बिर्तामोड । 

झापा गोल्डकपको छैटौं संस्करणलाई अखिल नेपाल फुटबल संघ सञ्चालनको लागि स्वीकृति दिएको छ । आगामी फागुन १९ देखि २८ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने झापा गोल्डकप फुटबल प्रतियोगिता २०८० लाई संघले स्वीकृति दिएको हो । 

संघले पाँच सुत्रिय शर्तहरुसहित बुधवार (आज) स्विकृति पत्र प्रदान गरेको झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले जानकारी दिए । संघका महासचिव किरण राईद्धारा हस्ताक्षरित पत्रमा पाँच वटा सर्तहरु रहेका छन् । 

प्रतियोगितामा सहभागी हुने टिम क्लबहरु एन्फा वा एन्फामा आवद्ध जिल्ला फुटबल संघमाआधिकारिक रुपमा आवद्ध (दर्ता) भएको हुनु पर्ने,  प्रतियोगिता नियमावली र खेल तालिका ७ दिन अघि एन्फामा पेश गरी एन्फाको स्विकृती लिएर खेल सञ्चालन गर्नु पर्ने, प्रतियोगिता सञ्चालनको लागि आवश्यक प्राविधिक जनशक्ति (रेफ्रि, सहायक रेफ्रि, फोर्थ अफिसियल, रेफ्री एसेसर, म्याच कमिस्नर) एन्फाबाट मनोनयन गराएर मात्र सञ्चालन गर्नु पर्ने, एन्फाले माथि उल्लेखित मितिमा मोफसलको अन्य एक स्थानमा प्रतियोगिता सञ्चालन गर्न स्वीकृत दिन सक्ने र प्रतियोगिता सम्पन्न भएको ७ दिन भित्र एन्फा सचिवालयमा प्रतिवेदन पेश गर्नु पर्ने शर्तसहित संघले स्वीकृति दिएको स्वीकृति पत्रमा उल्लेख छ ।