भद्रपुर । 

झापामा विगत १२ वर्षदेखि सञ्चालन भइरहेको हात्तीपाइले रोगविरुद्धको अभियानलाई यस वर्ष अन्तिम निष्कर्षमा पु¥याउने प्रतिबद्धता जनाइएको छ । विश्व उपेक्षित उष्ण प्रदेशीय रोग दिवसको अवसरमा झापाको भद्रपुरमा सोमवार (आज) आयोजित सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा सहभागीहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रमा प्रदेशसभा सदस्य छविलाल चुँडालले हात्तीपाइले रोगको निदानका लागि प्रदेश सभामा कुरा उठाउने बताए। ‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै दिनु हुँदैन’, उनले भने ‘अभियान सफल बनाउन सबैको सहयोग जरुरी छ, यसका लागि पाइलट प्रोजेक्ट चलाउनु पर्छ ।’

औषधि सेवन दर कम भएको भद्रपुर नगरपालिकामा थप कार्ययोजनाका साथ अभियान चलाइने नगरप्रमुख गणेश पोखरेलले प्रतिबद्धता जनाए। उनले अघिल्लो वर्ष ३५ प्रतिशत  भएको जनप्रतिनिधको रुपमा कार्यभार सम्हालेपछि उक्त दर बढेर  ५३ प्रतिशत पुगेको बताए । हात्तीपाइले रोगलाई निर्मूल पार्न यो पटक लागि पर्ने प्रतिबद्धता ब्यक्त गरे । 

यता, ४३ प्रतिशत औषधि सेवन दरलाई ७१ प्रतिशतमा पु¥याउन सफल शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहङ थोप्राले जनशक्ति अभावसँगै मानिसमा चेतनाको कमीले लक्ष्य अनुरुप काम गर्न नसकिएको बताए। गत वर्ष एकीकृत रुपमा जनशक्ति परिचालन गरेर टोलटोलमा अभियान चलाएकाले औषधि सेवन दर बृद्धि गर्न सकिएको बताउँदै उनले यो पटकको अभियानलाई निष्कर्ष पु¥याउने हरप्रयास गर्ने प्रतिबद्धता जनाए। जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्काले रोग निदानका लागि औषधि सेवन गर्नुपर्नेमा जोड दिँदै अनुगमनलाई प्रभावकारी बनाउने उल्लेख गरिन् ।  जिल्लाका सबै पालिकासँग समन्वय गरेर अभियान सफल बनाउन लागि पर्ने प्रतिबद्धतासमेत जनाइन् ।

छलफल कार्यक्रममा स्वयम्सेविका सीता आचार्यले सरकारी कार्यालयका हाकिम र कर्मचारीहरुलाई औषधि सेवन गराउन सकस पर्ने गरेको बताइन् । उनले विपन्न र गरिब बस्तीमा चेतना नभएकाले औषधि खाँदैनन् भन्ने गरिएपनि शिक्षिक बर्गले नै औषधि सेवन गराउन समस्या हुने गरेको बताइन् । झापा बाह्रदशी गाउँपालिकाकी नुतन साहले आफू विगत २० वर्षदेखि हात्तीपाइले रोगबाट पीडित भएको बताइन् । उनले औषधि खान थालेपछि केही सहज भएकाले औषधि खाए रोगबाट बच्न सकिने बताइन् । अर्का हात्तीपाइले रोग पीडित भद्रपुर–५ का रामप्रेम ठाकुरले हात्तीपाइले रोगबाट पीडित बिरामीका लागि राज्यले राहत र आत्मनिर्भर हुने खालको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

गत वर्ष जिल्लामा ७८ प्रतिशत मानिसले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जनकारी दिए। उनले जिल्लाबाट हात्तीपाइले रोग उन्मुलन गर्न यो पटक औषधि सेवन दर ८० प्रतिशत भन्दा हुन जरुरी रहेको बताउँदै नत्र अभियान असफल भएर दुई वर्ष थपिने बताए । 

स्वास्थ्य कार्यालय झापा र भद्रपुर नगरपालिकाको आयोजना तथा सहारा नेपालको विश्वास परियोजनाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । नेपालमा पाइने १० प्रकारका उष्ण उपेक्षित रोगहरुको निदानका लागि फेरमेडको आर्थिक सहयोगमा सहारा नेपालले विश्वास परियोजना सञ्चालन गरिरहेको परियोजनाका कार्यक्रम संयोजक पवनकुमार राईले जानकारी दिए। यो वर्ष कोशी प्रदेशको झापा मात्र हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान चलाइँदै छ । नेपालसहित विश्वबाट सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य रहेको छ ।