लक्ष्मीपुर । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ पाण्डवपुरस्थित श्री बागेश्वरी दुर्गा भगवती मन्दिरमा महापुराणको तयारी गरिएको छ । जीर्णद्वार मन्दिर पुनः निर्माणको उदेश्यसहित माघ १८ देखि २५ गतेसम्म समावेशी श्रीमद भागवत महापुराण धार्मिक महामहोत्सव आयोजना गर्न लागिएको आयोजक समितिले जानकारी दिएको हो । 

महाभारकालीन ऐतिहासिक स्थानका रुपमा रहेको पाण्डवपुरलाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजनासहित धार्मिक महामहोत्सव आयोजनाको तयारी गरिएको मुल आयोजक समितिका संयोजक इन्द्रमणि पौडेलले जानकारी दिए । 

एक सय ५१ जना मुल आयोजक समिति रहेको र धार्मिक महामहोत्सव सम्पन्न गर्नका लागि चार वटा उपसमितिहरु निर्माण गरिएको मुल आयोजक समितिका सचिव देवराज बुढाथोकीले बताएका छन् । उनका अनुसार महोत्सव सम्पन्न गर्न प्रचारप्रसार समिति, आर्थिक ब्यवस्थापन समिति, सुरक्षा तथा स्वयमसेवक समिति र खाद्यन्न तथा प्रसादी उपसमिति निर्माण गरिएको छ । 

महापुराणमा प्रमुख बाचकका रुपमा पण्डित कमलनयन निरौला, ब्यासचार्य पण्डित किरणमणि दाहाल रहने छन् भने राष्ट्रिय भजन गायक कृष्ण भण्डारीको समुहबाट संगीतमय भजनकिर्तन प्रस्तुत हुने मुल आयोजक समितिका संयोजक पौडेलले बताए । 

माघ १८ गते महापुराणमा उद्घाटन अघि कलशयात्रा, मण्डपपूजा गरिनेछ । त्यस्तै महापुराण अवधिभर श्रीमद भागवत कथा चर्चा, सन्ध्या आरती, संगीतमय भजनकिर्तन, ज्ञानमञ्च, झाँकी प्रदर्शनलगायतका कार्यक्रमहरु हुने जनाइएको छ ।