बिर्तामोड । 

झापाको कनकाई नगरपालिकालाई बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालले सम्मान गरेको छ । अस्पतालले क्यान्सर दिवसको अवसर पारेर आइतवार (आज) कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेललाई सम्मान गरेको हो । 

नगर भित्र सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिवन्ध लगाएर क्यान्सर जस्तो रोक न्युनीकरणमा सहयोग गरेको भन्दै नगर प्रमुख पोखरेल र उप–प्रमुख आशा शर्मा शिवाकोटीलाई अस्पतालले सम्मान गरेको हो । 

नगर प्रमुख पोखरेललाई नेपाल क्यान्सर फाउडेशनका अध्यक्ष तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. विरेन्द्रकुमार यादवले सम्मानपत्रसहित सम्मान गरेका हुन् । अस्पतालले क्यान्सर दिवसका अवसरमा बिर्तामोडमा झापाका १५ वटै स्थानीय तहका प्रमुख साथै बिभिन्न सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिका स्वास्थ्य सम्बन्धी अन्रक्रिया आयोजना गरेको थियो । 

सोही कार्यक्रमकाबिच कनकाई नगर प्रमुखलाई सुर्तिजन्य पदार्थ नियन्त्रण गरेको भन्दै सम्मान गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा सामाजिक अभियन्ता तथा सहारा नेपाल साकोस बिर्तामोड २ का कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाई, अर्जुनधारा नगर उपप्रमुख खड्गमाया पराजुली, कनकाई नगर प्रमुख पोखरेल, मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, शिवसताक्षी नगरप्रमुख मेगाहङ थोप्रालगायतले आ–आफ्नो धारणा प्रस्तुत गरेका अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

नेपाल क्यान्सर फाउडेशनले रोटरी क्लव अफ मिट टाउनसँगको सहकार्यमा गरेको क्यान्सर सचेतना कार्यक्रममा पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।