हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ३ देवनीया नदी किनारमा रहेको शुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिरलाई संविधान सभा सदस्य केदारप्रसाद सञ्जेल र उनको परिवारले तीन लाख रूपैँयाँ सहयोग गरेका छन्।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बोहोरालाई उनले तीन लाख रूपैँयाँको चेक हस्तान्तरण गरेका हुन्। मन्दिरलाई दीर्घकालिन रूपमा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लागिएकोले त्यसलाई सहयोग होस् भनेर सहयोग गरेको उनले बताए। सञ्जेलका दाई थीरनाथ सञ्जेल (पारस) को वि सं २०४३ सालतिर हाल मन्दिर रहेको स्थल नजिकै अप्रत्यासित रुपले देहान्त भएकाले उनको सम्झनामा सहयोग गरेको र आगामी दिनमा पनि गर्ने बताए।

मन्दिरका पुजारीलाई मासिक रूपमा दिइने पारिश्रमिक र अखण्ड बत्तीका लागि पनि उनले साथ दिने प्रतिवद्धता जनाएका छन्। कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बोहोरा, उपाध्यक्ष लालबहादुर कन्दङ्वा, सचिव तारा बोहोरालगायत समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।