सुनसरी।

सुनसरीको धरान उप–महानगरपालिका–१३ जिरोप्वाईन्टबाट ठुलो परिमाणमा नियन्त्रीत लागूऔषध गाँजासहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट अमरहाट धरानबाट आईतबार बिहान खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको BR10P9154 र MP17TA0512 नम्बरको दुई वटा बलेरो गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा दुई वटा गाडीबाट १ सय ४९ केजी गाँजा बरामद भएको थियो । 

गाँजा बरामद भएसँगै ओसार पसारमा संलग्न रहेका चालकहरु भारत बिहारका ३१ बर्षीय मनोरन्जन मुइमार, ३९ बर्षीया गोपी मण्डल र गाडीमा सवार रहेका २३ बर्षीय संजय कुमार मण्डल, ३५ बर्षीया रेखा देवी, ३५ बर्षीया रिङ्की देवी, ३५ बर्षीया दया मण्डल, ३७ बर्षीय राजेश मण्डल, ४० बर्षीया पुनम देवी र २४ बर्षीया गुडिया देवीलाई समेत पक्राउ गरेको हो ।

पक्राउ गरेसँगै उक्त घटनामा BR10AJ4486 नम्बरको कार चालक भारत बिहारका २३ बर्षीय सन्तोष साह, कारमा सवार २३ बर्षीय अंकित कुमार यादव, राजा जैसवाल, शिवम् सिंह र सत्यम यादवको संलग्नता रहेको पाईएकोले उनीहरुलाई समेत प्रहरीले  नियन्त्रणमा लिएको हो । बरामद गरेको लागूऔषध गाँजा, सवारी साधन र पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।