अर्जुनधारा । 

१४ औं राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लास्तरीय प्रतियोगिता झापाको अर्जुनधारा नगरपालिकामा शुरु भएको छ । अर्जुनधाराको शनिश्चरे माविको खेलमैदानमा प्रतियोगिताको उद्घाटन कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री शम्शेर राईले शनिवार (आज) गरेका हुन् । 

आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’को अध्यष्क्षतामा कार्यक्रममा जिल्लाका १५ वटै पालिकाबाट सहभागिता जनाएका खेलाडी छात्र–छात्राले मार्चपास गरेका थिए । 

समितिका सदस्य चेतामणि खनालले सञ्चालन गरेको उद्घाटन समारोहमा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देन, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । समारोहमा शनिश्चरे माविका छात्राहरुले नृत्य प्रस्तुत गरेका थिए ।

सोही अवसरमा जिल्ला खेलकुद विकास समिति झापाले अर्जुनधारा नगरपालिकालाई सम्मान गरेको थयो । १३ औं राष्ट्रपति रनिङ शिल्डको विजेता बन्न सफल हुनका साथै नगरभित्र खेलकुदलाई प्राथमिकतामा राखेर खेलकुद गतिविधि सञ्चालन गरेको भन्दै समितिले अर्जुनधारा नगरपालिकालाई सम्मान गरेको थियो । प्रमुख अतिथि मन्त्री राईले नगरप्रमुख बलदेव सिंह गोम्देनलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । 

एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ विधाका विभिन्न इभेन्टका खेलहरु सञ्चालन गरिने प्रतियोगितामा ४१८ पदकका लागि जिल्लाभरिका १८ वर्षमुनिका पुरुष तथा महिला गरी लगभग एक हजार पाँच सय खेलाडीले प्रतिस्पर्धा गरिरहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।