बिर्तामोड ।

 बिर्तामोड उद्योग वाणिज्य संघको चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरुलाई मत माग्न भ्याईनभ्याई छ । विशेषत दुई प्यानलमा उम्मेदवारी दिएका उनीहरु समूहमा भोट माग्न व्यवसायीहरुको घरदैलोमा घुमिरहेका छन् । उम्मेदवारको परिचय झल्कने व्यानर टाँगिएको साउण्ड सिस्टमसहितको गाडी लिएर उनीहरु बजार बजार डुलिरहेका छन् ।

उद्योग वाणिज्य संघलाई स्वतन्त्र व्यवसायीक छाता संस्थाको रुपमा पैरवी गर्न बौद्धिक नेतृत्वको खाँचो महशुस भइरहेको बेला उक्त आवश्यकताको वकालत गर्न तयार देखिएका छन् गंगाप्रसाद मैनाली । वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार मैनाली संघसंस्थालाई सफलतापूर्वक अगाडी बढाउने मुढेबल भन्दा सुझबुझ आवश्यक भएको धारणा व्यक्त गर्छन । 

मतदाताहरुमाझ आफ्ना प्रतिबद्धता बाँढ्ने क्रममा बजारमा भेटिएका मैनाली आफुसँग वाणिज्य संघको भावी योजना कस्तो हुनुपर्ने भन्ने स्पष्ट कार्ययोजना भएको दाबी गर्छन्।

पचासको दशकमा स्नातक गरेका उनले एक दशक राजधानी र झापाका विद्यालयमा शिक्षण पेशामा आबद्ध रहे । मैनालीले झापाको शिवगञ्जस्थित नवकिरण विद्या मन्दिरमा करिब ४ बर्ष प्रिन्सिपल भएर नेतृत्वदायी भूमिका निर्वाह गरे । २०२८ सालमा जन्मिएका मैनाली पछिल्लो १४ बर्षदेखि बिर्तामोडमा हार्डवेयर व्यवसायमा आबद्ध छन् । हार्डवेयर व्यवसायी संघ झापाको सदस्यसमेत रहेका मैनाली रक्षा हार्डवेयरका सञ्चालक हुन् । पछिल्लो समय उनले अर्जुनधारा नगरपालिका वडा नम्बर ६ स्थित नयाँ खानेपानी छेउ बिहानी टोलमा व्यवसाय सञ्चालन गरिरहेका छन् ।

बिहानी टोलका पूर्व अध्यक्षसमेत रहेका मैनाली नयाँ बसपार्कस्थित आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव हुन् । इमान्दार व्यवसायीको रुपमा परिचित मैनाली संघको नेतृत्व सिर्जनात्मक क्षमता भएको र बौद्धिक हुनुपर्नेमा जोड दिन्छन् ।

उनले उद्योग वाणिज्य संघलाई हालसम्म ल्याउन मेहेनत गर्ने अग्रजहरुलाई धन्यवाद दिन्छन् । उनी आगामी नेतृत्वले वाणिज्य क्षेत्रलाई विस्तार गर्दै सबैखाले व्यवसायीलाई छाता संस्थामा अटाएर लैजानु पर्ने धारणा राख्छन् । विगतका बर्षहरुमा राजनीतिक खिचातानीमा अल्झिएको संघ विशुद्ध व्यवसायीक हितमा केन्द्रित भएर काम गर्नु पर्ने मैनालीको भनाई छ । संघ र व्यवसायीहरु बिच कार्यगत एकताको खाँचो औँल्याउँदै त्यो पहलकदमी वाणिज्य संघले लिनुपर्ने बताउँछन् ।