बिर्तामोड । 

फागुन १९ गतेदेखि हुने अर्ना छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टिम सार्वजनिक गरिएको छ ।

आयोजक झापा गोल्डकपले बुधवार (आज) खैल मैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरी गोल्डकपको ट्रफी र सहभागी टिम सार्वजनिक गरेको हो ।  सोही कार्यक्रमका बिच प्रतियोगिताका विजेताले प्राप्त गर्ने च्याम्पियन ट्रफीसमेत सार्वजनिक गरिएको छ । झापा गोल्ड कपले यो संस्करणमा आफ्नै डिजाइनमा ट्रफी निर्माण गरेको छ ।

झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले प्रतियोगितामा ए डिभिजनसहित नेपालका १० टिमको सहभागिता रहने बताएका छन् । =छैटौँ संस्करणमा आयोजकको तर्फबाट झापा ११ एफसीले सहभागिता जनाउनेछ । विभागीय टिमहरु त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने अध्यक्ष बस्नेतले जानकारी दिए । 

jhapa goldcup

प्रतियोगितामा गत सिजनको सहिद स्मारक ए डिभिजन लिग विजेता टिम चर्च ब्वाइज युनाइटेड एफसी, मछिन्द्र एफसी, एनआरटी एफसी र संकटा एफसीले सहभागिता जनाउने पक्का भएको बताइएको छ । 

यस छैटौं संस्करणमा पहिलोपटक मोफसलका दुई टिमले सहभागिता जनाउने भएका छन् । सर्लाहीको बागमती युवा क्लब र हेटौँडाको एन्फा मकवानपुरले झापा गोल्ड खेल्ने पक्का भएको अध्यक्ष बस्नेतले बताएका छन् ।

ट्रफी र टिम सार्वजनिक कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, गोल्ड कपका संरक्षक तथा झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक प्रवेश कटवाल, गोल्ड कपका सल्लाहकार मदनगोपाल सुब्बा, वरिष्ठ उपाध्यक्ष बलराम कार्की लगायतको उपस्थिति रहेको थियो ।