बिर्तामोड । 

झापाको बुद्धशान्ति गाउँपालिकामा जारी प्रथम झापा जिल्ला अन्तरपालिका स्तरीय पुरुष टि–ट्वान्टी  क्रीकेट प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ । 

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा संचालन भैरहेको खेलमा भोलि (शनिबार) उपाधिका लागि बिर्तामोड नगरपालिका र कचनकवल गाउँपालिका  बीच भिडन्त हुनेछ । पहिलो चरणको सेमिफाइनल खेलमा कचनकवल गाउँपालिकाले मेचिनगर नगरपालिकालाइ हराएको थियो  भने हिजो भएको दोस्रो सेमिफाईनल खेलमा गौरादह  नगरपालिका लाई ८१ रनले  पराजित गर्दै  बिर्तामोड नगरपालिका फाइनलमा प्रवेश गरेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको बिर्तामोड नगरपालिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै  १८७ रन बनाएको थिए । बिर्तामोडका लागि  सिवान्स बजगाईले ६२  रन र दिपु भुजेलले ४६ रन बनाएका थिए भने बलिङ तर्फ गौरादहका ज्ञानु श्रेष्ठ र अर्जुन ढकालले २÷२ विकेट लिएका थिए ।

 १८८ रनको लक्ष्य पछ्याएको  गौरादहले १३.४ ओभरमा अलआउट हुँदै मात्र १०६ रन बनाउन सफल भयो । बिर्तामोडका  लागि उत्कृष्ट ब्याटिङ गर्दै ६२  रन बनाएका सिवान्स बजगाई खेलको म्यान अफ दि म्याच घोषित भए । 

झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष मदन  प्रसाईंले बताएका छन । प्रसाइका अनुसार भोलि हुने फाइनल खेलमा नेपाली साङगितिक क्षेत्रमा प्रख्यात गायिका आस्था राउतको समेत प्रस्तुति रहने छ ।