हल्दीबारी । 

झापाको हल्दीबारी आधारभूत अस्पतालले २७ हजार १८३ जनालाई निःशुल्क सेवा प्रदान गरेको छ । २०७९ पुस ८ गतेबाट निःशुल्क स्वास्थ्य शिविर गरेर हल्दीबारी गाउँपालिकाले सञ्चालन गरेको अस्पतालले हालसम्म त्यो संख्याका मानिसलाई सेवा दिइसकेको पालिकालले जनाएको हो । 

२०७९/०८० मा ओपिडी सेवा मात्र भएको अस्पतालले २०८० माघ १९ गतेदेखि २४ सै घण्टा सेवा सञ्चालन गरेको गाँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रबहादुर बन (महेन्द्र) ले जानकारी दिए । 

अस्पतालमा २७ हजार १८३ जना मध्ये जेष्ठ नागरिक ७ हजार ६७५ जना, १४ बर्षसम्मका बालबालिका २ हजार १५५ जना र अन्य बिभिन्न उमेर समुहकाले सेवा लिएका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रले बताए । 

haldibari aspatal

अस्पतालमा बाहिरङ्ग सेवा (ओ.पि.डी.), स्वास्थ्य बिमा कार्यक्रम, आकस्मिक स्वास्थ्य सेवा, प्रयोगशाला सेवा, फार्मेसी सेवा, इसीजी सेवा, ड्रेसिङ तथा सामान्य चिरफार सेवा, एकीकृत बालरोग तथा नवजात शिशु व्यवस्थापन सेवा, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन सेवा, खोप सेवा, पोषण सेवा, क्षय तथा कुष्ठरोग निदान सेवा, आधारभूत सेवा अन्तरगत निःशुल्क औषधी वितरण तथा अन्य सेवाहरु, परामर्शलगायतका सेवा प्रदान गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रले जानकारी दिए ।  

अस्पतालमा मेडिकल अफिसर एक जना, हेल्थ असिस्टेन्ट ४ जना, ल्याव टेक्निशियन २ जना, फार्मेशी सहायक एक जना, अहेव २ जना, अनमी ३ जना, सहायक कर्मचारी, कार्यालय सहयोगी र सरसफाईकर्मी ३ जनाले अस्पतालमा सेवा दिदै आएका अस्पताल ब्यवस्थापक जयबहादुर बोहोराले बताए । उनका अनुसार अस्पतालमा आकस्मिक सेवा २४ सै घण्टा सञ्चालन रहेको छ भने ओपीडी सेवा १० बजेदेखि ४ बजेसम्म र शुक्रबार १० बजेदेखि १ बजेसम्म रहेको छ । 

त्यसैगरी हल्दीबारी गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स सेवाबाट २ सय ४७ जनाले सेवा लिएको पालिकाका जनस्वास्थ्य निरिक्षक प्रकाश खतिवडाले जानकारी दिए । २०८० असोज ४ गतेबाट पालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको थियो । जनस्वास्थ्य निरिक्षक खतिवडाका अनुसार उक्त संख्या मध्ये ५० प्रतिशत छुटमा २२ जना र निःशुल्क १० गर्भवती महिला, ३ जना जेष्ठ नागरिक, २ जना बिपन्न नागरिकलाई निशुल्क सेवा प्रदान गरिएको छ ।