सुरुङ्गा । 

पछिल्लो समय झापा र कनकाई नगरपालिका क्षेत्रमा बढ्दो लागूऔषध प्रयोगकर्ता कम गर्न इलाका प्रहरी कार्यालय सुरुङ्गाले बिद्यालयमा सचेतना अभियानलाई तीव्रता दिएको छ । 

 इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी प्रमुखका रुपमा प्रविण भट्टराई आएसँगै नियमित कार्यक्रमनै बनाएर स्कुल र कलेजका विद्यार्थीलाई लागूऔषध सम्बन्धि सचेतना कार्यक्रम गर्दै आएका छन् । 

सोही क्रममा कनकाई–४ स्थित संस्थागत विद्यालय झापा मेरीगोल्ड अंग्रेजी माध्यमिकमा एकदिने  लागूऔषध र साईबर क्राईम सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । 

इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख वरिष्ठ प्रहरी नायव निरिक्षक प्रविणकुमार भट्टराईले विद्यालयका कक्षा ९ र १० का १ सय ३० जना विद्यार्थीलाई लागूऔषधको प्रयोग र यसको असर, यसबाट बच्ने तरिका, लागूऔषधबाट मानिसमा पर्ने असर, साईबर अपराध, यसको प्रकार र सजाय लगायातका वारेमा प्रशिक्षण प्रदान गरेका हुन् । 

इलाका प्रहरी कार्यालय सुरुङ्गाले कनकाईका अन्य विद्यालयहरुमा समेत यसप्रकारका प्रशिक्षणहरु नियमित रुपमा गर्दै आइरहेको छ ।  यता कनकाई नगरपालिका १ स्थित नवयुग शिक्षा निकेतनका कक्षा ९ र १० का १०० जना विद्यार्थीहरुका लागि समेत यसप्रकारको प्रशिक्षण प्रदान गरिएको छ । प्रहरीले यस क्षेत्रका अन्य संघसंस्था लायन्स क्लव लगायातको समेत सहकार्यमा लागूऔषध सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।