भद्रपुर ।

आसन्न महाशिवरात्रीको अवसरमा झापाको भद्रपुर–४, लक्ष्मीनगरस्थित चन्द्र मौलेश्वर महादेव सोम तीर्थधाममा मार्कण्डेय महापुराण सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । 

धाममा अक्षय कोष अभिबृद्धि एवम् राधा–कृष्ण मन्दिर निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको मार्कण्डेय महापुराणको कथावाचन आजदेखि शुरु भएको हो । हिजो शुक्रबार कलश यात्रा तथा महापुराण उद्घाटन भएको थियो । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले महापुराणको उद्घाटन गरेका थिए ।

झापाको शंकराचार्य पीठ साधुटार धामका व्यासाचार्य पं लक्ष्मीप्रसाद खतिवडा प्रमुख वाचक तथा पं अभिनारायण कट्टेल उपवाचक रहेको महायज्ञ फागुन २६ गते समापन हुने महायक्ष आयोजक समितिका अध्यक्ष कपिलमणि पोखरेलले जानकारी दिए ।