सुरुङ्गा । 

तन्त्र तथा धामीझाँक्री अध्ययन प्रतिष्ठान कोशी प्रदेश समन्वय समितिको प्रथम साधारणसभा सम्पन्न भएको छ । कनकाई–४ स्थित रिमाल सेवा समाजको भवनमा आइतबार प्रतिष्ठानका कोशी प्रदेश समन्वय समिति संयोजक रोषन भेट्वालको अध्यक्षता तथा धर्मगुरु विकास राईको प्रमुख अतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि राईले धामीझाँक्री परम्परा, मौलिक धर्म संस्कृति, जडिबुटी विद्यासहित परापूर्वकालका धामीझाँक्री इतिहासको बारेमा जानकार दिएका थिए । हाल धामीझाँक्रीहरु भएका समस्या, चुनौती र सुधार गर्नुपर्ने विषयलाई प्रष्ट पार्दै उहाँले कार्यक्रम सफलताको शुभकामना दिँदै संस्थालाई आवश्यक परेको खण्डमा सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । 

कार्यक्रममा संस्थालाई योगदान पुर्याउने प्रदेश सदस्य र आजीवन सदस्य २० जनालाई सम्मान गरिएको छ । त्यस्तै, प्रतिष्ठानले धामीझाँक्री गतिविधि, धामीझाँक्री आचारसंहिता उल्लेख गरी प्रकाशन गरेको विसं २०८१ सालको भित्तेपात्रो विमोचन गरिएको छ ।कार्यक्रममा संयोजक भेट्वालले वार्षिक नीति तथा कार्यक्रमसहित भावि योजन र प्रगति विवरण समेत प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष रोषन सार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

कार्यक्रममा विशिष्ट अतिथि माता तिलरुपा काफ्ले, प्रतिष्ठानका सल्लाहकार ज्योतिषी ज्ञानेन्द्र खरेल, प्रदेश सदस्य डिकबहादुर कार्की, सल्लाहकार संयोजक इन्द्रवर रिमाल, प्रजापति युवा क्लबका पूर्व अध्यक्ष दिपेश रिमाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

प्रतिष्ठानका कोशी प्रदेश सदस्य डिल्लीराम बाँसकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव नर्वदा खनालले गरेकी थिइन् ।  कार्यक्रममा झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, उदयपुरका ४६ प्रकारका ८० बढी धामीझाँक्रीहरु उपस्थिति रहेको प्रदेश संयोजक भेट्वालले जानकारी दिए।