चन्द्रगढी ।

झापाको चन्द्रगढीस्थित देवकोटा स्मारक संरक्षण समितिको आयोजनामा कवि विरही अधिकारीको एकल कविता वाचनसँगै सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । 

साहित्यकार डिल्लीराज नेपालको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा कवि विरही अधिकारीले ‘किन लेख्नु र कविता ?’, ‘आमा कति रोयौ रोयौ, स्वास्नी हुनुको अर्थ लगायतका चर्चित कविता वाचन गरेका थिए ।  

भद्रपुर ९ को देवकोटा चोक स्थित मुना भवनमा कवि अधिकारीले कविता वाचन गर्दा कार्यक्रम स्थलमा उपस्थित श्रोता भावुक बनेका थिए । 

साहित्यकार तारा विविधले कवि अधिकारीको परिचय र चुडामणि वशिष्ठले वाचन गरिएका कविताको बारे टिप्पणी गरेका थिए । कार्यक्रममा कवि अधिकारीका कविता सुनेपछि प्रतिकृया दिदै  मेचीनगर १४ का सामाजिक अभियन्ता शङ्कर पोखरेलले कवितामा आक्रशण छ भन्ने कुरा प्रस्ट भएको  धारणा राखेका थिए ।  

देवकोटा स्मारक संरक्षण समितिका अध्यक्ष राजु बरालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको सो कार्यक्रममा वीरेन्द्र माबि, पुहातु जनज्योति माबि र जीवन ज्योति आधारभुत बिद्यालयका बिद्यार्थीहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने गायक अर्जुन खरेल र गायिका प्रीया दासले गीत प्रस्तुत गरेका थिए । 

देवकोटा स्मारक संरक्षण समिति अध्यक्ष राजु बरालको अध्यक्षता, ज्ञानेन्द्र कटुवालको स्वागत र युवराज ढकालको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डिल्लीराज नेपाल र भद्रपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष राम कँडेलले शुभकामना मन्तब्य राखेका थिए ।