बिराटनगर।

झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागू औषध ब्राउन सुगर र औषधीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका– ८ मा बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले स्थानीय १९ बर्षीय शेखर परियार र २१ बर्षीय रोहित साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट लुकाईछिपाई राखेको अवस्थामा लागूऔषध ब्राउन सुगर ५ ग्राम बरामद गरी पक्राउ गरेको छ । 

त्यसैगरी इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले हिजो १ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर सहित २३ बर्षीय मनिष चौधरीलाई कनकाई नगरपालिका–८ बाट पक्राउ गरेको हो । 

बेलुका सवाँ ६ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–७ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थाई प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरी टोलीले साइकलयात्रीलाई शंका लागि चेकजाँच गर्ने क्रममा साइकल चालक स्थानीय २० बर्षीय रोहन राई र सोही साइकलमा पछाडी सवार बराहक्षेत्र–२० का समिर दर्जीको साथबाट नोफिन, एभिल, डाइजेपाम, ट्रमानिल, नाइट्रोसन, प्रोमेथोजिन गरी जम्मा ५६ ट्याब्लेट र सिरिन्ज ४ थान फेला पारी पक्राउ गरिएको छ । पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।