विराटनगर । 

६७औं राष्ट्रिय सहकारी दिवस मोरङमा पनि भव्य रुपमा मनाउन विभिन्न नौ उपसमिति गठन गरिएको छ ।  चैत २० गते पर्ने राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउने तय गरी त्यसका लागि गत फागुनमा नै जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डा डिल्ली पोख्रेलको संयोजकत्वमा पाँच सय एक सदस्यीय मुल समारोह समिति गठन भैसकेको छ ।

सो कार्यक्रमलाई सफल बनाउन नौ विभिन्न उपसमितिसमेत गठन गरिएको छ । जस अन्तर्गत मञ्च, दीप प्रज्वलन, स्वास्थ्य, खानेपानी, अतिथि सत्कार, झाँकी एवम् र्‍याली, स्वयम्सेवक, आर्थिक र प्रचारप्रसार उपसमिति गठन गरिएको हो ।

मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा सीता लामिछाने, दीप प्रज्वलन उपसमितिको संयोजक संगीता दाहाल, उपसंयोजकमा सरिता अधिकारी, स्वास्थ्य उपसमितिको संयोजक र उपसंयोजकमा जीतेन्द्र झा र  सन्तोष मण्डल छन् ।

यस्तै अन्य उपसमितिका संयोजक र उपसंयोजक अन्तर्गत खानेपानीमा उमेश गुरुङ र देवी प्रधान, अतिथि सत्कारमा मीरा दाहाल र बलबहादुर घिमिरे, झाँकी एवम् र्‍यालीमा ई कमलेश्वर ठाकुर र नवीन विश्वास, स्वयम्सेवकमा योगेन्द्र साह र नारायण ढकाल, आर्थिकमा अमृत गुरुङ र प्रभु पोखरेल रहेको प्रचार प्रसार उपसमितिका  उपसंयोजक अविनाश निधीले जानकारी दिए ।

  मुल समारोह समितिमा जिल्ला सहकारी संघ मोरङका पदाधिकारी तथा सञ्चालकहरु, सबै विषयगत सहकारी संघका पदाधिकारी तथा सञ्चालकहरु, सहकारी कर्मचारी संगठनका पदाधिकारी तथा सञ्चालकहरु, राष्ट्रिय सहकारी बैंकका कर्मचारीहरु, अग्रज सहकारीकर्मीहरु छन् ।

त्यसैगरी कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन डा पोख्रेलकै संयोजकत्वमा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रेमप्रकाश कोइराला, जिल्ला कृषि सहकारी संघका अध्यक्ष रबिन्द्र आचार्य, जिल्ला बहुउद्देश्यीय संघका अध्यक्ष माधव अधिकारी, उपभोक्ता संघका अध्यक्ष माधव अत्री, राष्ट्रिय सहकारी बैंकका शाखा प्रबन्धकहरु, सहकारी कर्मचारी संगठनका अध्यक्ष गणेश राई, चक्र खड्कासमेत रहेको २५ सदस्यीय व्यवस्थापन समिति गठन गरेको संघका मोरङ सचिव राकेश दाहालले बताए ।

राष्ट्रिय सहकारी दिवसलाई भव्य बनाउन चैत १६ गते दिउँसो (३ः३० बजे) एकै समयमा मोरङको विराटनगर, रंगेली, उर्लाबारी, पथरीशनिश्चरे, सुन्दरहरैचा, बेलबारी र लेटाङमा र्‍याली निकाल्ने र चैत १९ गते साँझ ६ बजे १७ वटै पालिकाका मुख्य स्थानमा दीपावली गर्ने निणर्य गरेको छ । त्यसैगरी चैत १४ गतेदेखि चैत्र १९ गतेसम्म सबै प्रारम्भिक सहकारी संस्थाहरुले सहकारी सम्वन्धी कार्यक्रम गर्ने  जनाइएको छ ।

नेपालमा हरेक वर्षको चैत २० गते राष्ट्रिय सहकारी दिवसको रुपमा मनाइदै आइएको छ । विसं २०१३ साल चैत २० गते पहिलो सहकारी संस्था नेपालमा स्थापना भएको उपलक्ष्यमा देशभर सो दिन राष्ट्रिय दिवस मनाउन शुरु गरिएको हो ।