सुरुङ्गा । 

कनकाई नगरपालिका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले अनावश्यक व्ययभार नपर्ने गरी होली मनाउन आग्रह गरेका छन् ।  होली पर्वको अवसरमा सन्चारकर्मीको प्रश्नको जवाफ दिदै नगर प्रमुख पोखरेलले होली मनाउँदा स्वास्थ्यमा ध्यान दिएर खेल्नुपर्ने बताएका हुन् । उनले होलीले सभ्य, शान्तिपूर्ण, एकतावद्ध समाज निर्माण गर्न, राष्ट्र एकतावद्ध बनाउने कुरामा योगदान गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । 

कनकाई नगर प्रमुख पोखरेलले होलीमा पछिल्लो समय विकृति फैलिँदै गएको भन्दै विकृति नफैलिने गरी होली पर्व मनाउनु पर्नेमा जोड दिए । उनले फागु पर्व होली मनाउने क्रममा कसैको इच्छाविपरीत रङ दल्ने लोला हान्ने, बाटोमा लुकेर बटुवालाई इच्छाविपरीत रंग नदल्लन पनि आग्रह गरेका छन् ।

नगर उपप्रमुख आशाशर्मा शिवाकोटीले होली पर्व आम नेपालीहरुको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रुपमा मनाउन आग्रह गरिन् । उनले होली खेल्न नचाहनेहरुका लागि जबरजस्ती रंग दल्ने, लोला हान्ने काम नगर्न सचेत गराउँदै सुरक्षित र संयमित भएर होली मनाउन अनुरोध गरिन् । आज पहाडी जिल्लामा र भोली तराईका जिल्लामा होली पर्व मनाइँदै छ ।

फाइल तस्वीर