झापा । 

झापामा सामुदायिक बनमा उत्पादन भएको अर्गानिक बेसार (हल्दि) बजार प्रवर्धनका लागि अन्तरक्रिया गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ झापाले बिहीवार  भद्रपुरमा अन्तरक्रिया सम्पन्न गरेको हो । 

झापा अन्तरगत भद्रपुरको दियालो, दशरथपुर, विशाल र कमलधाप रामपोखरी, हल्दिबारीको पाथीभरा कालीका र रातमाटे र कचनकवलको दुर्गाभिट्टा र त्रिवेणी सामुदायिक वन समूहमा कृषि वन अन्तर्गत बेसार उत्पादन गर्दै आएका छन् ।

अर्गानिक रूपमा उत्पादन गरिएको बेसारको प्रचार प्रसार तथा बजारीकरणमा  अन्तरक्रियामा सहभागीले जोड दिएका छन् । भारतबाट मिसावट भएको बेसार सस्तो मूल्यमा नेपाल भित्रिनाले पनि स्थानीय स्तरमा उत्पादन हुने अर्गानिक बेसारको बजारीकरणमा असहज भएको अन्तरक्रियामा उपस्थित बत्ताहरुले बताएका छन् ।  उनीहरुले स्थानीय स्तरमा उत्पादन भएको अर्गानिक बेसारको आ–आफ्नो क्षेत्रबाट प्रर्वधनमा पहल गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा फरेष्ट एक्सन नेपालकी फिल्ड अधिकृत मुना भट्टराईले वन समूहमा भएको बेसार खेतीका बारेमा  तथ्यसहित प्रस्तुतीकरण दिएकी थिइनु । कार्यक्रमको सहजीकरण महासंघकि कोषाध्यक्ष देवीका अधिकारीले गरेकी थिइन् ।

अन्तरक्रिया कार्यक्रममा झापा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार राई, महासचिव सुमन्त मैनाली, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेन, कचनकवल गाउँपालिका उपप्रमुख नवराज भट्टराई, हल्दिबारी उधोग बाणिज्य संघका महासचिब कृष्ण प्रसाई, सचिव एवंम सञ्चारकर्मी नेत्रविक्रम बिमलीसहित  स्थानीय व्यापारीहरु, बेसार उत्पादन गर्ने सामुदायिक वन समूहका प्रतिनिधिहरू, फरेष्ट एक्सन नेपालका प्रतिनिधिहरूबिच छलफल भएको थियो ।