बिर्तामोड ।

 जिल्ला सहकारी संघ झापाले ६७ औं राष्ट्रिय सहकारी दिवस बिविध कार्यक्रम गरी  मनाएको छ । ‘सहकारीमा सुशासन,  प्रविधि र एकीकरण’ भन्ने मूल नाराका साथ संघले मंगलबार (आज) बिर्तामोडमा ब्यापक सहकारीकर्मीहरुको उपस्थितिमा सहकारी दिवस मनाएको हो ।  न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको प्रमुख आतिथ्यमा बिर्तामोडमा आज जिल्लाका सहकारीकर्मीले सहकारी दिवस मनाएका छन् । 

बिर्तामोडस्थित सिटी सेन्टर परिसरमा वृहत कार्यक्रमको आयोजना गर्दै मनाइएको सहकारी दिवसमा देशकै सबैभन्दा ठूलो सहकारी सहारा नेपाल साकोस, दोस्रो नेपाल बहुउद्देश्यीय सहकारी र नवौं स्थानमा पर्न सफल कर्णाली सहकारीलाई सम्मान गरिएको थियो । 

सहारा नेपालका अध्यक्ष हरिवहादुर राजवंशी, प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, नेपााल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी र प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती र कर्णाली सहकारीका अध्यक्ष टसवहादुर श्रेष्ठ र कार्यकारी प्रमुख कुमार याक्सोलाई प्रमुख अतिथि गिरीले सम्मान गरेका थिए । 

जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले गरेका थिए ।  कार्यक्रममा प्रमुख अतिथि गिरी, राष्ट्रिय सहकारी महासंघका निर्वतमान अध्यक्ष मिनराज कडेल, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेकपा एमाले झापाका नव निर्वाचित अध्यक्ष  प्रेमवहादुर गिरी र नेकपा (माओवादी केन्द्र) झापाका अध्यक्ष राजु आचार्य (अग्नि) लगायतले सहकारी संस्थालाई व्यवस्थित गर्दै  लानु पर्नेमा जोड दिएका थिए । 

sahakari

सोही कार्यक्रमका बीच राष्ट्रिय सहकारी महासंघका निर्वतमान अध्यक्ष मिनराज कडेललाई सम्मान तथा संघले प्रकाशन गरेको  सहकारी स्मारिका समेत विमोचन गरिएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।  

कार्यक्रममा विभिन्न जात जातिको पहिचान झल्कने झाँकी प्रर्दशन गरिएको थियो । कार्यक्रम अघि झापाका विभिन्न स्थानमा सञ्चालित सहकारीका अभियान्तासहित प्रमुख तथा प्रतिनिधिहरुले प्रभात फेरीको आयोजना गरेका थिए ।

बिर्तामोडस्थित उत्तरतर्फ महानन्द चौक,  पश्चिमतर्फ भगवान चौक, दक्षिणतर्फ बिर्ता वजार र पूर्वतर्फ बस पार्क क्षेत्रबाट विभिन्न २९ वटा नारा सहितको  प्लेकार्ड र झाँकी सहितको  ¥याकी आयोजना गर्दै कार्यक्रम स्थलमा सहकारीकर्मी पुगेका थिए ।

झापामा ७ सय ५६ वटा सहकारी संस्था छन् । जसमध्ये स्थानीय तह अन्तरगत ४ सय २३ र प्रदेश सरकार मातहतमा सञ्चालित ३ सय ३३ वटा सहकारी संस्था रहेको कोशी प्रदेश सहकारी संघ तथा जिल्ला सहकारी संघ झापाका सचिव भवानीप्रसाद दंगालले जानकारी दिए ।

सहकारी दिवस मनाउन र सहकारी अभियानलाई अझ सशक्त रुपमा अघि बढाउन सहकारीकर्मी र सदस्य एकीकृत गराउन संघले झापामा ब्यापक रुपमा सहकारी दिवस मनाएको जनाएको छ ।