सुरुङ्गा ।

 झापाको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले हात्तीपाइलेको औषधि नखानेलाई नगरको सेवा सुबिधाबाट बन्चित गरिने बताएका छन् । 

कनकाई नगरले नगरवासीको सवै दुःख सुखमा साथ र सहयोग गरेको बताउँदै नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर यस बर्ष नगरले त्यस्तो निर्णय गरेको नगर प्रमुख पोखरेलले बताए । उनले नगरले नगरवासी सर्वसाधारणकै स्वस्थ्यका लागि कार्डको ब्यवस्था गरेको बताउँदै हात्तीपाइलेको औषधि नखानेलाई नगर र वडाबाट पाउने सेवासुबिधाबाट बन्चित गरिने बताएका हुन् । 

कनकाई नगर हरेक क्षेत्रमा पहिलो हुँदै गएपनि हात्तीपाइले औषधी सेवनमा पछि परेकाले नगरबासी सम्पूर्णलाई  यस बर्षको हात्तीपाइले रोगको औषधि सेवन गरेर हात्तीपाइले रोग पूर्ण रुपमा मुक्त गर्न आग्रह गरेका छन् । नगर प्रमुख पोखरेले यस बर्षदेखि कनकाई नगर हात्तीपाइले रोग मुक्त नगर बनाउन सवैले औषधी सेवन गर्न आग्रह गरेका छन् । 

राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान आम औषधि वितरण कार्यक्रम अन्तरगत कनकाई नगरमा बुधवार (आज) प्रधाध्यापक तथा शिक्षकहरुसँगको पालिका स्तरीय अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख पोखरेलले त्यस्तो बताएका हुन् । 

कनकाई नगरको स्वास्थ्य शाखाको आयोजना तथा सहयोगी संस्था सहारा नेपालको विश्वास परियोजना अन्तरगतको फेयरमेड फाउण्डेशन नेपालको सहयोगमा अभिमूखिकरण भएको हो । 

कनकाई नगर निमित्त प्रमुख प्रशासकीय अधिकृत जमुना कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, स्वास्थ्य निर्देशनालय धनकुटाकी सुरक्षा खत्रीलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । 

विश्वका ७२ देश मध्ये ७१ वटा देशमा हात्तीपाइलेको औषधि खुवाइदै गरेको र नेपालका ६४ जिल्ला मध्ये ५७ जिल्लामा उक्त औषधि खुवाइने अभियान सम्पन्न भइसहेको र ७ वटा जिल्लामा मात्र यस बर्ष औषधि सेवन गराइदै गरेको कनकाई स्वास्थ्य शाखा खगेन्द्र दंगालले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशको झापा जिल्ला बाहेक सवै जिल्लामा हात्तीपाइले रोग मुक्त भइसकेको छ ।

स्वागत नगरका जनस्वास्थ्य निरिक्षक नारायण अधिकारीले गरेको कार्यक्रमको सहजीकरण कनकाई स्वास्थ्य शाखा खगेन्द्र दंगालले गरेका थिए । प्रस्तुतीकै क्रममा दंगालले हात्तीपाइलेको औषधी नखाने बैदेशिक रोजगारीमा गएका केही फर्केर आएकोसमेत तथ्याङ्क सार्वजनिक गरेका थिए । उनले कनकाई नगरको जनसंख्या करिव ५३ हजार रहेको र त्यो मध्ये यस बर्ष ५१ हजारलाई औषधी सेवन गराइने बताए । 

कनकाई नगरसहित झापा जिल्लाभर बैशाख १६ देखि २२ गतेसम्म राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान अन्तरगत आम औषधी वितरण कार्यक्रम सञ्चालन गरिने कनकाई स्वास्थ्य शाखाकी सिनियर अनमी टीका दवाडीले जानकारी दिइन् ।

कनकाई नगरमा १४ वटा सामुदायिक र २३ वटा संस्थागत बिद्यालयमा अध्ययनरत करिव १४/१५ हजार बिद्यार्थीलाईसमेत औषधि खुवाइने कनकाई नगर शिक्षा शाखा प्राविधिक रोहित पौडेलले जानकारी दिए । 

अभिमूखिकरण कार्यक्रममा सहभागीहरुले औषधी सेवनमा हुने समस्या र समाधनका बिषयमा आ–आफ्नो जिज्ञासा राखेका थिए । औषधी सेवनका लागि नगर र वडाले बिबिध कार्यक्रम गरिरहेकोसमेत कार्यक्रममा बताइएको थियो । कार्यक्रममा विश्वास परियोजनाकी सामाजिक स्वास्थ्य सहजकर्ता कोपिला अधिकारी, नगरका सामाुदायिक तथा संस्थागत बिद्यालयका प्रमुख तथा प्रतिनिधि, सरोकारवालालगायतको उपस्थिति रहेको थियो ।