हल्दीबारी ।

झापाको हल्दीबारी गाउँपालिकाले निर्माण गरेको आवास भवनमा बसोवास गर्ने १२ घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ। पालिकामा भएका अति विपन्न नागरिकहरुको छनौट गरेर आवास हस्तान्तरण गरेको हो । पालिका क्षेत्रभित्र बसोबार गर्ने परिवारका ५० जनाको स्वास्थ्य बिमा गरेर शनिवार (आज) बिमा कार्ड वितरण गरिएको हो। 

उनीहरूको बिमा वापत गाउँपालिकाले ४४ हजार ८ सय खर्च गरेको छ। विपन्न नागरिकहरुले सर्वसुलभ रूपमा स्वास्थ्य सेवा लिउन भनेर उक्त कार्यक्रम गरिएको अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले बताए।

अध्यक्ष लिङदेनले जनताहरूलाई दुःख परेको बेला स्थानीय सरकार भएको आभास हुने गरी गाउँपालिकाले जनताले प्रत्यक्ष लाभ लिन सक्ने कार्यक्रम गरिरहेको जानकारी दिए। उनले आफ्नो वसोवास भएको ठाउँको सरसफाई गर्न, मिलेर बस्न सबैलाई अनुरोध गर्दै केही समस्या भए पालिकाले समाधान गर्दिने प्रतिबद्धता जनाएका थिए।

१२ घरपरिवार वसोवास गरिरहेको आवास क्षेत्रमा शौचालय, विधुत, पानी लगायतका अत्यावश्यक सेवा सुरूवात बाटै उपलब्ध गराइएको छ भने विधार्थीहरुका लागि नजिकै विद्यालय तथा गाउँपालिकाको आधारभूत अस्पताल पनि सेरोफेरो मै रहेको छ।

कार्यक्रममा हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, सबै वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू,वडा सदस्यहरू, स्वास्थ्यकर्मीहरु, समाजसेवी लगायत स्थानिय वासिन्दाहरूको उपस्थिति रहेको थियो।