बिर्तामोड । 

झापाको बिर्तामोडमा पाठेघर खस्ने समस्या सम्बन्धि अन्तरक्रिया भएको छ । हेल्थ नेपाल मिडिया प्रालिको आयोजनामा बिहीबार (आज) बिर्तामोडमा अन्तरक्रिया भएको हो । कार्यक्रममा महिला रोग विशेषज्ञ डा. ज्योति भजु लामाले पाठेघर खस्ने समस्या सम्बन्धि जानकारी गराएकी थिइन् । महिलाहरुमा पाठेघर खस्ने समस्या अझै कम नभएको उनले बताइन् । नेपालको तराई जिल्लाहरुका पाठेघर खस्ने महिलाको संख्या धेरै भएको उनको भनाई छ ।  उक्त समस्याबाट पिडित रहेको तथ्याङ्कहरुले देखाएको डा. लामालेबताएकी छिन् ।  

लामो समय प्रशव पीडा भएको, बच्चाको तौल बढी भएको, प्रशुती पश्चात लगातार खोकीको समस्या भएको र धेरै सन्तान जन्माएका महिलाहरुमा बढी पाठेघर खस्ने समस्या देखिने गरेको उनले जानकारी दिइन् ।  प्रसुती पश्चात आराम गर्नुपर्ने समयमा भारी काम गर्ने महिलाहरुमा पाठेघर खस्ने समस्या हुने उनको भनाई थियो । यो समस्या भएका महिलाहरुलाई नियमित पिसाब लागे जस्तो हुने, पिसाबमा संक्रमण हुने, कब्जियत, अल्सर, पिसाब चुहिने, ढाड दुख्नेजस्ता समस्या हुने डा. लामाले जानकारी दिइन् ।  

पाठेघर खस्ने समस्याबाट बच्न जनचेतना जगाउनु नै पहिलो उपाय भएको उनले बताइन् । यदि कसैलाई यो समस्या भए र पहिलो चरणमा नै पत्ता लागे फिजियो थेरापी गराउन सकिने, चरण बढ्दै गएको भए रिङ राख्न सकिने र अवस्था अझै खराब भएको भए पाठेघर नै फ्याँक्नु पर्ने उनले बताइन् । 

राज्यले महिलाको स्वास्थ्य क्षेत्रमा प्रशस्त लगानी गरेपनि पाठेघर खस्ने बिरामीको संख्या घटाउन नसकेको हेल्थ नेपालका कार्यकारी सम्पादक तथा स्वास्थ्य पत्रकार मञ्चका उपाध्यक्ष भिषा काफ्लेले बताए । पाठेघर खस्ने समस्या रोकथाम र शल्यक्रिया सम्बन्धि कार्यविधी निर्देशिका २०६५ नै बनाएर सरकारले काम गरिरहेको उनले बताए । नेपालको संविधानमा नै स्वास्थ्य र विशेषगरी महिला स्वास्थ्यको बिषयलाई समेटेको काफ्लेको बताए । कार्यक्रममा हेल्थ आवाजका सम्पादक जनक तिमिल्सिना, फोटो सम्पादक नवराज वाग्लेलगायत उपस्थिति रहेको थियो ।