मेचीनगर । 

झापा मेचीनगर–१२ का चिमरिया दम्पतिले २१औं बैवाहिक वर्षगाँठको अवसरमा मेचीनगरका १५ वटै वडाका बिपन्न परिवारलाई झुल बितरण अभियान संचालन गर्ने भएका छन् । समाजसेबी एबम् उद्योगी राजन–गौरा चिमरियाले ३ लाख ६७ हजार पाँच सय मूल्यको १५ सय झुल बितरण गर्ने भएका हुन् । मौसम प्रतिकुलसँगै लामखुट्टेको टोकाइबाट डेङु भएर अकालमै मृत्युवरण भएको देख्न नपरोस् भन्ने उद्देश्यले प्रत्येक वडामा १०० थानका दरले १५ वटै वडामा १५ सय झुल बितरण गर्ने राजन चिमरियाले जानकारी दिए । 

बिपन्न परिवारको लगत संकलन सुरु गरिएको छ । संकलन कार्य सकेपछि प्रत्येक वडामा वडास्तरीय कार्यक्रमकाबीच झुल बितरण गर्ने चिमरियाको भनाई छ । जन्मदिन र बैवाहिक वर्षगाँठको अवसरमा समाजमा बिभिन्न समस्यामा पर्दै आएका बिपन्न समुदायलाई सहयोग पुर्याउँदै आएका चिमरिया दम्पतिले आफ्नो नियमित कार्यक्रमअन्तर्गत झुल बितरण अभियान गरेको हो ।

२१ औं बैवाहिक वर्षगाँठकै दिन आज (बिहिवार) झापाको मेचीनगर–८ को टोकला बगानमा कार्यरत बिपन्न चिया मजदुरहरुलाई ५० थान झुल बितरण गरेर अभियानको सुरु गरेका छन् । समाजमा रहेका बिपन्न परिवारलाई नगद, जिन्सी तथा चौपायाँ बितरण गर्दै सामाजिक सेवामा तल्लिन रहेका चिमरियाले यो पटक छुट्टै ढंगले समाजिक सेबा गर्ने योजना बनाएको उनको भनाई छ ।

यसैबीच चिमरिया दम्पतिले मेचीनगर–१२ स्थित देवाहसनपछि अव्यवस्थित रुपमा बस्दै आएका बालबालिकाको नाउँमा सुरु गरेको घर निर्माणमा १० हजार सहयोग गरेका छन् । उनले घर निर्माण अभियानका संयोजक पत्रकार खगेन्द्र घिमिरेलाई सहयोग रकम प्रदान गरेका थिए ।परिवारको पालनपोषणको एउटै आधार ४८ वर्षीय पद्मा भुजेलको निधनपछी बालबालिकाको गाँस, बास र शिक्षाको ब्यवस्थापनका लागि अनुसन्धान मिडिया प्रालिले सहयोगको आग्रह गरेसँगै संकलित रकमबाट घर निर्माण अभियान प्रारम्भ गरिएको थियो ।

कनकाईका प्रजापति र देबिका मैनालीको एकमात्रै छोरी गौरासँग २०६१ साल बैशाख २७ गते बैवाहिक बन्धनमा बाँधिएका थिए । आफ्नै रीतिका डेरी उद्योगबाट दुई वटा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दिवा खाजामा दैनिक निःशुल्क दूध  खुवाउँदै आएका समाजसेबी चिमरियाले पछिल्लो समयमा समाजमा उदाहरणीय रुपमा समाजसेवा गर्दै आएका छन् । 

उनले  २०७९ सालमा जन्मदिनको अवसर पारेर दर्जनौं सहिद तथा वेपत्ता परिवार सम्मान गरेका थिए भने २०८० सालमा बैवाहिक वर्षगाँठमा मेचीनगर–१३ स्थित सहिद उप्रेती परिवारलाई ६५ हजार मूल्य पर्ने गाई बितरण गरेका थिए ।

मोटरसाइकल दुर्घटनापछि मृत्यु भएका मेचीनगर(१० का राजबंशी परिवारको सदस्य बालिकालाई शिक्षाकोष अन्तरगत ५१ हजारको कोष निर्माण गरेका थिए भने अग्निपीडित, प्राकृतिक बिपत्तिमा परेकालाई उद्दारार्थ आर्थिक तथा सामाजिक सहयोग गर्दै आएका छन्  ।