लन्डन।
बेलायतस्थित झापालीहरूको साझा संस्था झापाली समाज यूकेले अन्तरक्रिया कार्यक्रम तथा वैठक सोमबार लन्डनमा सम्पन्न गरेको छ। त्यस अवसरमा संस्थागत विस्तार, आगामी योजना र अन्तर्राष्ट्रिय समन्वयका विषयमा छलफल तथा महत्त्वपूर्ण निर्णयहरू भएको छ।
झापाली समाज यूकेका अध्यक्ष टंक भट्टराईको अध्यक्षता तथा महासचिव देवी गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चौलागाईंको विशेष उपस्थिति रहेको थियो। अन्तर्राष्ट्रिय झापाली समाजको तर्फबाट अध्यक्ष चम्लागाईंले झापाली समाज यूकेलाई राष्ट्रिय समितिको प्रमाणपत्र प्रदान गरेका थिए । त्यस्तै अध्यक्ष चम्लागाईंले अन्तर्राष्ट्रिय झापाली समाजको केन्द्रीय सदस्यमा पदेन सदस्य रहेका झापाली समाज यूकेका अध्यक्ष टंक भट्टराई र केन्द्रीय सदस्यमा मनोनित यूकेका उपाध्यक्ष गुरुप्रसाद लिम्बूलाई केन्द्रीय सदस्यको प्रमाणपत्र प्रदान गरेका थिए ।
यसका साथै नयाँ सदस्यहरूलाई सदस्यता प्रदान गर्ने र बेलायतभर रहेका झापालीहरूलाई समेट्दै सङ्गठन विस्तार गर्ने निर्णय पारित गरिएको छ। सो अवसरमा आयोजित अन्तरक्रियामा बेलायतमा रहेका झापालीहरूलाई एउटै साझा मञ्चमा जोड्ने, आपसी एकता, सहकार्य र भाइचारालाई थप सुदृढ बनाउने विषयमा गहन विचार–विमर्श भएको थियो।
‘हाम्रो झापा, हाम्रो पहिचान, हाम्रो एकता’ भन्ने मूल नाराका साथ क्रियाशील समाजले आगामी दिनमा सहकार्य, एकता र साझा प्रतिबद्धतासहित झापाली समुदायको हितमा विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।


















