हल्दीबारी । 

मेचे युवा क्लबको आयोजनामा भएको प्रथम हल्दीवारी टोलस्तरीय लिगकम फुटवल प्रतियोगिताको आजको खेलमा साविक जलथल ५ ले जलथल ७ लाई पछि पार्दै जीत हासिल गरेको छ । 

झापाको हल्दीवारी वडा नम्बर ४ को पाथिभरा खेल मैदान भएको आजको तेस्रो खेलमा जलथल ५ ले ७ लाई ३–० ले हराउँदै थप ३ अंक जोडेको छ ।  निर्धारित २५/२५ मिनेटको खेलमा पहिलो हाफमा दुबै टिमले स्कोर गर्न नसक्दा शुन्य/शुन्यको स्कोर भएको थियो । 

दोस्रो हाफको २९ औं मिनेटमा जलथल ५ का जर्सी नम्बर १० का मिड फिल्डर विश्वनाथ किस्कुले टिमलाई जलथल ७ को पोष्टमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यस लगत्तै ३१ र ५२ औं मिनेटमा जलथल ५ का जसी नं. ११ का सुप्रिम मेचेले २ गोल गरेर टिमलाई ३–० को फरकले जिताएका थिए । 

खेलको म्यान अफ दि म्याच २ गोल गर्दै जलथल ५ लाई जिताउने सुप्रिम मेचे घोषित भए । उनले हल्दीबारी ४ का वडा सदस्य तथा खेल संयोजक सुरेन्द्र बाराकोटीको हातबाट ट्रफी प्राप्त गरे । यो खेलसँगै एक जित एक बराबरी भएको जलथल ५ शीर्ष स्थानमा उक्लिएको छ भने जलथल ६ दुई अंकका साथ दोस्रो स्थान र जलथल ७ एक अंकको साथ तेस्रो स्थानमा रहेको हल्दीबारी ४ का वडाध्यक्ष सन्तकुमार थापाले जानकारी दिए । 

मंगलबार(भोली) जलथल ६ र ७ बिच प्रतिस्पर्धा हुनेछ । शनिवारबाट शुरु भएको प्रतियोगिताको फाइनल जेठ ५ गते हुनेछ ।