झापा । 

 जेष्ठ नागरिक र महिलालाई  सुन जस्तो पहेलो धातुको टिल देखाई ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  झापाको दमक नगरपालिका हाट बजारको क्षेत्रम नगद तथा महिलाहरुले लगाएका सुनका गर–गहनाहरुसँग सट्टापटा गरी ठगी गर्ने गरेको आरोपमा प्रहरीले ती ब्यक्तिलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका वडा नं.५ क्षेत्री वाहुन टोलका ३० बर्षिय सन्जित शर्मा रहेका छन् । जेष्ठ नागरिक महिला तथा पुरुषसहितलाई विभिन्न मितिहरुमा सुन जस्तो पहेलो धातुको टिल देखाई नगद तथा महिलाहरुले लगाएका सुनका गर–गहनाहरुसँग सट्टापटा गरी ठगी गर्ने गरेको भन्ने उजुरी तथा सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिई खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।

ठगी गर्ने शर्मालाई हिजो बुधवार झापाको दमक–६ स्थित पशुहाटबाट सुन जस्तो देखिने पहेंलो धातुसहित फेला पारी पक्राउ गरिएको हो । शर्माको साथबाट सुन जस्तो देखिने पहेंलो धातु ५६.३१० ग्रामसमेत फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई आज (बिहीवार) झापा जिल्ला अदालतबाट ठगी कसुरमा म्याद थपको लागि कानुनी प्रक्रिया प्रारम्भ गर्नुका साथै सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।