बिर्तामोड । 

झापा बिर्तामोडको बीएण्डसी टिचिङ्ग हस्पिटलले निःशुल्क हेमोडायलाइसिस सेवा शुरु गरेको छ । अस्पतालले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा सञ्चालित विपन्न औषधी कोष कार्यक्रम अन्तरगतको निःशुल्क हेमोडायलाइसिस सम्बन्धी सेवा शुरु गरेको हो ।

बिर्तामोडस्थित अस्पतालमा आज (आइतवार) पत्रकार सम्मेलनको आयोजना गरेर  हेमोडायलाइसिस सेवा सम्बन्धी जानजकारी दिएको हो । यस सेवा अन्तरगत कुनैपनि मृगौलाका विरामीले निःशुल्क रुपमा हेमोडायलाइसिस गर्न सक्ने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । 

गिरीका अनुसार निःशुल्क सेवा लिनका लागि बिरामीले स्थायी बसोबास भएको स्थानीय तहको सिफारिस ल्याउनु पर्नेछ । विरामी अस्पतालको ओपिडी वा इमरजेन्सीमा आएपछि चिकित्सकले आवश्यक स्वास्थ्य परिक्षण गरी मृगौलाको समस्या देखिएर हेमोडायलाइसिस गर्नु परे स्थानीय तहको विपन्न नागरिक औषधी कोष अन्तरगत विरामीको लागि स्थानीय तहले अस्पताललाई सिफारिस गर्नुपर्ने गिरीले जानकारी दिए ।

bnc

सेवा लिनका लागि पालिकाको प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुख रहेको समितिले निर्णय गरी निर्णयको प्रतिलिपिसहित अस्पताललाई सिफारिस पत्र पठाउनु पर्ने बताइएको छ । 

त्यस्तै सिफारिस पत्रको आधारमा अस्पतालले बिरामीसँग आवश्यक कागजातहरु संलग्न गरी बीएण्डसी अस्पतालको सामाजिक सुरक्षा इकाईमा पेश गरेपछि मात्र निःशुल्क हेमोडायलाइसिसको सेवा पाइने गिरीले बताएका छन् । 

पत्रकार सम्मेलनमा डा. गोपाल मिश्र, डा. मुक्ति देबकोटा, डा. राजु श्रेष्ठलगायतले उपचार र सेवाका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।