बिर्तामोड । 

झापाको बिर्तामोडमा लागुऔषध दुर्व्यसन सम्बन्धी दुई दिने सचेतना कार्यक्रम सुरु भएको छ । पछिल्लो समय लागुऔषधका कारोबारी र प्रयोगकर्ता बढ्दै गएपछि विद्यालयस्तरबाटै सुधार ल्याउने उद्देश्यसाथ विद्यार्थी लक्षित सचेतना कार्यक्रम गरिएको हो ।

झापा टुडे मिडिया प्रालिको आयोजना, बिर्तामोड नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा इलाका प्रहरी कार्यालय अनारमनीको सहकार्यमा सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रमको पहिलो दिन बिर्तामोड–१ मा रहेका वाल्मीकि एजुकेसन फाउन्डेसन र मनकामना सेकेन्डरी स्कुलका विद्यार्थीहरुबीच कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा वाल्मीकिबाट १७१ जना र मनकामनाबाट १४३ जना विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड वडा नम्बर १ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डे, नेपाल औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवनकुमार खड्का, वाल्मीकिका शिक्षक कुलमणि चौलागाईं, मनकामनाका सहायक प्रधानाध्यापक ध्रुव गौतमले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

झापा टुडेका अध्यक्ष तथा सम्पादक हिमाल खरेलको अध्यक्षतामा भएको सचेतना कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक नरेश लिम्बूले प्रशिक्षण दिएका थिए । कार्यक्रमपछि विद्यार्थीहरु समिप लिङदाम, संस्कृति प्रसाईं र सुदन खरेलले प्रशिक्षणबाट सिकेको अनुभव सुनाएका थिए ।

वडा सचिव टिका अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेको कार्यक्रमको सञ्चालन झापा टुडेकी निर्देशक तथा समाचार प्रमुख विनिशा शर्माले गरेकी थिइन् ।