झापा। 

२१ औं स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आज झापाका १५ जना महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकालाई सम्मान गरिएको छ । कोशी प्रदेश सरकारको ‘एक पालिका, एक महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका सम्मान कार्यक्रम’ अन्तरगत झापाका १५ वटा पालिकाका १५ जना स्वास्थ्य स्वयंसेविकाहरुलाई जनही १२ हजार  रुपैयाँसहित सम्मान–पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा मञ्जु नेपाल मेचीनगर, रामला लिम्बू बुद्धशान्ति, लता खतिवडा अर्जुनधारा, कृष्णकुमारी कटुवाल कनकाई, तुलसादेवी घिमिरे शिवसताक्षी, बिमलादेवी भट्टराई कमल, रिता गौतम दंगाल दमक, गीता कार्की थापा गौरादह, गायत्री बस्नेत गौरीगञ्ज, सकुन्तला कटुवाल झापा, मिनाकुमारी राजवंशी बाह्रदशी, विष्णुकला चौधरी बिर्तामोड, शारदा उप्रेती हल्दिबारी, सविता पोखरेल भद्रपुर र मिरा घिमिरे नेपाल कचनकवललाई सम्मान गरिएको हो ।

सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख चुडामणि लुइँटेल, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कोशी प्रदेश उपाध्यक्ष निर्मला सुवेदी नेपालले सम्मान पत्र प्रदान गरेका गरेका थिए ।  झापाका १५ वटा पालिकामा हाल छ सय पाँच जना सामुदायिक स्वास्थ्य स्वयंसेविकाले सेवा प्रदान गर्दै आएका छन् ।

कार्यक्रममा स्वागतसँगै औचित्यमाथि प्रकाश पार्दै स्वास्थ्य कार्यालय झापाकी पब्लिक हेल्थ नर्स नितु साहले झापा एक जना महिला स्वास्थ्य स्वयंसेविकाले औषतमा ४० जनालाई सेवा दिने गरेको जानकारी दिइन् । कार्यसम्पादनको आधारमा उनीहरुको औषत प्रगति ९६ प्रतिशत रहेको उनले बताइन् । 

कार्यक्रममा मन्तव्यका क्रममा स्वास्थ्य स्वयंसेविकाकोशी प्रदेश उपाध्यक्ष निर्मला सुवेदी आफूहरुलाई सरकारले स्वास्थ्य क्षेत्रको मेरुदण्ड रुपमा व्याख्या गरे पनि सेवा सुविधा दिने विषयमा ध्यान नदिएको गुनासो गरिन् ।