झापा ।
सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मोरङ जिल्लाको कानेपोखरीमा आयोजित पाँच दिने आधारभूत श्रृंगार तालिमको समापन भएको छ । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको संस्थाको शिक्षा उप–समितिको आयोजनामा मोरङ जिल्ला अन्तर्गतका सेवा केन्द्रहरुका शेयर सदस्यलाई लक्षित गरेर आयोजना गरिएको तालिमको आज बिहिबार समापन भएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।
तालिम पुष २१ गतेदेखि सुरु भएको थियो । संस्थामा आबद्ध महिला शेयर सदस्यलाई आत्मनिर्भर बनाउंदै उद्यममा जोड्न तालिमको आयोजना गरिएको बताउंदै तालिममा सिकिएका सिपलाई व्यवहारमा उर्तान कार्यकारी प्रमुख बस्नेतले आग्रह गरे । संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता तथा कानेपोखरी गाउंपालिका ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको हो ।
संस्थाका अध्यक्ष भट्टराईले सिकेको ज्ञानलाई सदुपयोग गर्न आग्रह गर्दै पुंजी अभावकै कारण व्यवसाय सञ्चालनमा समस्या भए संस्थाले आवश्यक कर्जा सहितको सुविधा उपलब्ध गराउने बताए । तालिममा मोरङ जिल्ला सेवाकेन्द्रहरुबाट ३४ जना महिला शेयर सदस्यहरु सहभागि थिए । सहभागिलाई जानुका देबी प्रधान र सृजना ढुंगेल प्रशिक्षण दिएका थिए । सहभागिलाई संस्थाले प्रमाणपत्र उपलब्ध गराएको छ ।
यस अघि पनि संस्थाले इलाम जिल्लाको नेपालटारमा इलाम जिल्ला अन्तर्गतका शेयर सदस्यहरुलाई श्रृंगार तालिम प्रदान गरेको थियो । त्यसैगरी संस्थाले खुदुनाबारीमा पनि केहि समय अघि कपुरधुप बात्ती निर्माण तालिम प्रदान गरेको थियो । झापा, मोरङ, इलाम र पाँचथर गरी ४ जिल्ला कार्यक्षेत्र रहेको सिम्रिक सकोसको ३ अर्ब २१ करोड माथिको वासलात छ भने ४६ वटा सेवाकेन्द्रहरु मार्फत शेयरसदस्यहरुलाई सेवा सुविधा दिईरहेको संस्थाले जनाएको छ ।


















