लक्ष्मीपुर ।
झापासहित तराईमा केहीदिन यता चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । दुई दिन अघिदेखि झापासहित तराईमा निरन्तर रुपमा हुस्सु÷कुहिरो लागेसँगै जनजीवन प्रभावित भएको हो । तराइका धेरै भू–भागहरूमा हुस्सु तथा कुहिरासँगै शीतलहर चलेको छ ।
जाडो बढेपछि बृद्धबृद्धा, रोगी र बालबालिकालाई दैनिक जीवनमा असर परेको छ । दिनभर हुस्सु लागेपछि दैनिक रुपमा काम गर्ने श्रमिकहरुको समेत जनजीवन प्रभावित भएको हो ।
बिहीवार दिनभर झापासहित पूर्वी तराईमा हुस्सु तथा कुहिरो लागेको छ भने आज (शुक्रवार) पनि झापासहित तराईको अवस्था उस्तै छ । हुस्सुका कारण दिनभर शितलहर झरेको छ । जसका कारण जनजीवन प्रभावित हुँदै गएको छ ।
यसरी नै केहीदिन हुस्सु तथा कुहिरोसँगै शीतलहर लागे अझ चिसो बढ्ने र बृद्धबृद्धा, रोगी, बालबालिका र दैनिक गर्ने मजदुरहरुको जनजीवन अझ कष्टकर बन्ने देखिएको छ ।
हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको र जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशको मौसममा आंशिक बदली रहने सम्भावना रहेको छ । मधेस र बागमती र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


















