चारपाने । 

अमेरिकामा बस्दै आएका झापा बिर्तामोड–२ चारपानेका कबिन्द्र सिटौलाले विश्व यात्रा शुरु गरेका छन् । प्रेम कविताहरु संकलन गरी विश्वकै बिशाल कविता ग्रन्थ ‘ग्रन्थ’ निर्माण तयारीका लागि सिटौलाले विश्व यात्रा शुरु गर्न लागेको जानकारी दिए । 

नेपालको पूर्वी जिल्ला तेह«थुमको आठराई गाउँपालिकास्थित चुहानडाँडामा जन्मिएका सिटौला सन् १९९१ देखि संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यमा गैर आवसीय नागरिकका रुपमा बस्दै आएका छन् । 

‘मेरो देश, प्रेमको देश’ भन्ने मुल नाराका साथ सिटौलाले विश्वका एक सयवढी देशको साहित्यिक यात्रा गर्ने बताए । उनले एक सय भन्दा वढी मुलकमा पुगेर नेपालका गौरवमय बिषय बस्तुका बारेमा जानकारी गराउने पनि उदेश्य रहेको बताए । 

सिटौलालाई आज (आइतवार) बिर्तामोड–२ स्थित चारपानेमा रहेको पर्शुराम पार्टी प्यालेसबाट सिटौला परिवारसहित उपस्थित ब्यक्तित्वहरुले बिदाई गरेका छन् । बिदाईसँगै उनी काठमाडौ पुगेर अमेरिका जाने र त्यसपछि विश्व यात्राका लागि निस्कने योजना रहेको बताउँछन् । 

संसारकै अहिलेसम्मको सवैभन्दा ठूलो ग्रन्थ तयार गर्ने अभियानका साथ विश्वयात्रामा निस्किएको सिटौलालले बताए । ग्रन्थका लागि ७ लाख कविता सिटौलाले संकलन गर्ने र ३ लाख कविता इमेलमार्फत संकलन गर्ने योजना बनाएका छन् । ग्रन्थका लागि १० लाख कविता संकलन हुँदा २ हजार २ सय रिम कागज प्रयोग हुने र त्यसको तौल ४५ क्विन्टल हुने उनले अनुमान गरेका छन् । 

उक्त लक्ष्य पूरा गर्न एउटा मुल समिति चयन गरिएको छ । जसमा परिकल्पनाकार एवं मुख्य अभियन्ता उनै कविन्द्र सिटौला, योजना निर्देशक शिव लामिछाने अमेरिका, सम्पर्क सचिव ऋषभदेव घिमिरे नेपाल, प्राविधिक संयोजक लक्ष्मण भट्टराई नेपाल र सल्लाहकार प्रेमराज महत अमेरिका छन् । 

सामाजिक अभियन्ता डिल्लीराम सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाई, उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, सुशील श्रेष्ठ, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले विश्वयात्राका लागि सिटौलाललाई शुभेच्छा व्यक्त गरे ।  स्वागत रामप्रसाद सिटौलालले गरेको कार्यक्रमको सञ्चालन प्रेमप्रकाश सिटौलाले गरेका थिए ।