झापा  ।

 ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउन नहुने र हुने पक्ष प्रदर्शनमा उत्रिएका छन् । नो केबलकार पक्ष र सरकारबिचको वार्ताले ठोस निष्कर्ष निकाल्न नसक्दा  केवलकार पक्ष र विपक्ष आ–आफ्नो आन्दोलनका कार्यक्रम गरिरहेका छन् । दुई पटक भएको छलफलपछि केही शान्त देखिएको पाथीभरा क्षेत्रमा पुनः पक्ष र विपक्षमा र्‍याली तथा प्रदर्शन शुरु भएको छ । 

वार्ता र सहमति नगरी केबलकार निर्माण कम्पनीले आफ्नो काम अगाडि बढाएपछि गत माघ १२ गते नो केबरकार समूहले काम रोक्ने प्रयास गरेको थियो । त्यस क्रममा १९ जना प्रहरी र ६ जना नो केबलकार समूहका घाइते भएका थिए । बलुडाँडामा उक्त दिन साँझ प्रहरी र आन्दोलनकारीबिच झडप भएको थियो ।

आन्दोलन उग्र बन्दै जाँदा गत माघ २० गते सरकारले सहसचिव प्रेम प्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गर्‍यो । त्यसको भोलिपल्ट नो केबलकार समूहले पनि प्राज्ञ अमर तुम्याहाङको नेतृत्वमा वार्ता समिति गठन गर्‍यो । दुवै वार्ता टोलीबिच माघ २२ गते वार्ता भयो । सो वार्ताबाट माघ २७ गते निर्णायक वार्ता गर्ने भन्दै त्यतिन्जेलका लागि केबलकार निर्माण र आन्दोलन स्थगित गर्ने सहमति भयो । २७ र २८ गते वार्ता भए पनि निष्कर्षमा पुग्न सकेन । त्यसपछि अर्को वार्ता हुन सकेको छैन ।

बरु, त्यस क्षेत्रमा केबलकार बनाउनु पर्छ भन्ने पक्षले गत मंगलबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा जनप्रदर्शन गरे । ‘नो केबलकार’ समूह पनि मंगलबारदेखि नै मुक्कुमलुङ शान्ति पदयात्रामा निस्किएका छन् । यो पनि आन्दोलनकै रूप भएको उनीहरूको दाबी छ । स्थानीय जनताले केबलकार नचाहेको थेगिमको दाबी छ । थेगिमसहितको टोलीले मंगलबार, बुधबार र बिहीबार शान्ति पदयात्रा गरिरहेको छ । 

उता सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराईले भने बिहीबार ‘नो केबलकार’ पक्षलाई पुनः वार्तामा बोलाउन पत्राचार गरिने बताए । 

पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने भन्दै केही व्यक्तिले विरोध गरिरहेका छन् । पाथीभरामा केबलकार निर्माणको प्रसङ्ग चार दशकअघि उठे पनि २०७२ मा पाथीभरा देवी दर्शन केबलकार प्रालिको स्थापना भएको हो । यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमति लिएको थियो ।

करिब दुई वर्ष अघि पाथीभरा केबलकारमा आइएमई समूहको प्रवेशसँगै यो आयोजना निर्माणले गति लिन थालेको छ । आइएमई समूहले मुलुकका सातवटै प्रदेशमा केबलकार सहितका पर्यटकीय गन्तव्यहरू बनाउने उद्देश्यसहित २०७९ सालमा यस केबलकारको ठुलो सेयर लिएर काम अगाडि बढाएको हो ।

कम्पनीले केबलकारका लागि आवश्यक जग्गाको भोगाधिकार प्राप्त गर्ने र नेपाल सरकारलाई सट्टा भर्ना जग्गा दिने काम सम्पन्न गरिसकेको छ । केबलकारको अलाइनमेन्ट क्षेत्रमा पर्ने रुख कटान गर्ने र डीपीआर स्वीकृत गर्ने कामसमेत सम्पन्न भइसकेको छ । केबलकार निर्माण कार्यको औपचारिक शिलान्यास गरी यही महिनादेखि भौतिक निर्माण सुरु गर्ने तयारी छ ।

उता, प्रदेश १ पुनः नामकरणको पहिचानवादीको आन्दोलन इलाम उपनिर्वाचनमा केन्द्रित भएको थियो । त्यसपछि उठ्न नसकेको आन्दोलन पुनः पाथीभरा केबलकारको बहानामा जुर्मुराउन थालेको हो । वार्ताले सार्थक परिणाम दिन नसके पुनः पाथीभरा क्षेत्रमा आन्दोलन, झैझगडा र द्वन्द्व हुने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । फाइल तस्वीर