लक्ष्मीपुर ।
दहिझोडा सामुदायिक बन उपभोक्ता समुहको भोलि (शुक्रवार) हुने निर्वाचनमा अध्यक्षका लागि चार जनाले उम्मेद्वारी दिएका छन् । नयाँ सोच र योजनासहित आ–आफ्ना प्रतिवद्धता सार्वजनिक गर्दै आएका अध्यक्ष पदका उम्मेद्वारले कसले बाजी मार्ने भन्ने अहिले उपभोक्ताहरुमा कोतुहल छाएको छ ।
निर्वाचनमा दुई वटा प्यानल खडा भएका छन् भने दुई जनाले स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । अध्यक्षमा नेपाली कांग्रेसको समर्थनमा संयुक्त लोकतान्त्रिक समावेशी समुहबाट इन्द्रमणि पौडेल र नेकपा एमालेको समर्थनमा संयुक्त प्रगति समावेशी समुहबाट देवराज बुढाथोकीले प्यानल खडा गरेर उम्मेद्वारी दिएका छन् ।
खगेन्द्र सुब्वा र गोकर्ण कार्कीले स्वतन्त्र रुपमा अध्यक्षमा उम्मेद्वारी दिएका हुन् । दुई कार्यकाल लेखा समितिको संयोजकमा कुशल कार्य सम्पादन गरिसकेका पौडेल नयाँ भिजन र नयाँ सोचका साथ उम्मेद्वार बनेको बताउँछन् भने पूर्व अध्यक्षसमेत रहेका बुढाथोकीले पनि नयाँ योजनाका साथ उम्मेद्वारी दिएको बताउछन् ।
स्वतन्त्र अध्यक्षका उम्मेद्वार खगेन्द्र सुब्बा पनि पूर्व अध्यक्ष नै हुन् । स्वतन्त्र अध्यक्षका उम्मेद्वार कार्कीले पनि बन बिकासको नयाँ योजना रहेको बताउँदै आएका छन् । तीन बर्षे कार्यकालका लागि हुने निर्वाचनमा चार जना सर्वसम्मत निर्वाचित भइसकेका समुहका कार्यालय सचिव युवराज खड्काले जानकारी दिए ।
१५ सदस्यीय पदाधिकारी तथा कार्यसमिति सदस्य रहने समुहको समितिमा क्षेत्र नं. १ बाट जनजाती महिला कोटाबाट सपना लिम्बु, क्षेत्र नं. २ बाट दलित महिला सदस्य कोटाबाट पुष्पा शिवा, क्षेत्र नं. ३ बाट खुल्ला सदस्य कोटाबाट लीला कटुवाल र क्षेत्र नं. ५ आदिवासी महिला कोटाबाट नेमुवति राजवंशी सर्वसम्मत निर्वाचित भइरहेको कार्यालय सचिव खड्काले बताएका हुन् । ३० वटा टोल अन्तरगत ५ वटा क्षेत्र रहेको बन समुहमा तीन हजार चार सय ९२ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा ६५ देखि ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ ।


















