• चन्द्र बस्नेत

कनकाई। 

झापाको कनकाईमा विविध कार्यक्रमका साथ ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । नगरका नौ वटै वडामा विविध कार्यक्रमको आयोजना गरी रचनात्मक तवरले दिवस मनाइएको हो । ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका कनकाईका सबै वडामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ ।

शनिबार कनकाईको वडा नं १ देखि ८ सम्म छुट्टाछुट्टै स्थानमा विविधि कार्यक्रम गरिएको छ भने ९ नम्बर वडामा शुक्रबार दिवसको अवसरमा कार्यक्रम गरिएको थियो । नगरपालिकाको सभाहलमा भएको वडा नं. १ को कार्यक्रममा विविध प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रमसहित छुट्टाछुट्टै ५ विधाका ५ जना महिलालाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा ९२ वर्षीया जेष्ठ माता विष्णुमाया निरौला, पूर्वजनप्रतिनिधि दुर्गादेवी ओली, कोकिला बस्नेत, लघु उद्यमी नन्दिनी मण्डल र स्वास्थ्य स्वयम्सेविका सुमित्रादेवी खबासलाई सम्मान–पत्र, दोसल्ला तथा विभिन्न उपहारका साथ सम्मान गरिएको हो ।

वडाध्यक्ष सुशीलकुमार पोखरेलको सभापतित्वमा आयोजित कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले महिला एकताबद्ध भएमात्रै समाज परिवर्तन हुन सक्ने बताए।

ठूलो कुरा गरेर भन्दा अनुशासित भएर काम गरे सफलता मिल्ने उनले बताए । नगरप्रमुख पोखरेलले अहिले संघीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव ५ र पालिकामा ४१ दशमलव १ प्रतिशत महिला जनप्रतिनिधि रहेको एवम् निजामती सेवामा हाल करिब २८ प्रतिशत महिला कर्मचारीको उपस्थिति रहेको बताएका थिए। सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजारभन्दा बढी महिलाले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए । त्यही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा भएको उनले बताए । 

कार्यक्रममा विभिन्न प्रतियोगितात्म रचना, गायन, नृत्य, संगीनि, भजन–कीर्तन लगायत समेत प्रस्तुत गरिएको थियोे । महिला तथा बालबालिका शाखा प्रमुख टीका खतिवडा, कृषि शाखा प्रमुख समिता सोती, वडाका ९ वटै टोलका संयोजक, वडाका सबै महिला समूह, विद्यालयका प्रतिनिधि, वडाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बाल क्लब, संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेकोे कार्यक्रममा प्रजापति सामुदायिक वनका अध्यक्ष मातृका पोखरेल, नेपाली कांग्रेस वडा सभापति मनोज बस्नेत, पूर्व जनप्रतिनिधि देवीप्रसाद अधिकारी, टोल संयोजक प्रेमप्रसाद अधिकारी, सुरुङ्गा जेसीजकी पूर्व अध्यक्ष सरला दाहाल पोखरेल लगायतले महिलाहरुको हक अधिकारबारेमा चर्चा गरेका थिए । 

वडाका सबै जनप्रतिनिधि तथा कर्मचारी सहभागी रहेको कार्यक्रमको स्वागत तथा औचित्यमाथि प्रकाश वडा अध्यक्ष पोखरेलले गरेका थिए भने सञ्चालन वडा सदस्य निर्मला खड्काले गरेकी थिइन् ।  कनकाई २ मा महिलालाई सम्मान तथा पुरस्कृत एवम् सांस्कृतिक कार्यक्रम गरी महिला दिवस मनाइएको छ । कार्यक्रममा महेश्वरी गिरी, पदमकुमारी श्रेष्ठ, खगीमाया दर्जी, साहिली किस्कु, फुलमती राई र अञ्जु कठेतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष बलराम राई (प्रताप) ले महिलाको आदर नहुने घरमा कहिल्यै पनि श्री नहुने बताएका छन् । 

कनकाई ३ ले समेत विविध कार्यक्रमका साथ महिला दिवस मनाएको छ । वडा नं. ३ मा कार्यपालिका सदस्य तथा कार्यक्रम संयोजक कृष्णमाया भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख आशा शर्मा शिवकोटीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा एकल महिला विष्णुमाया बजगाईं, मजदुर दुर्गादेवी राई, सेवानिवृत्त स्वास्थ्य स्वयम्सेविका चन्द्रादेवी राई, ज्येष्ठ माता इश्वरा उप्रेती र मात्रिकादेवी निरौलालाई सम्मान गरिएको थियो ।

कनकाई ४ मा अग्रज महिलाहरु गोमादेवी पोखरेल, हरिमाया मैनाली, चन्द्रमाया राई, देवीमाया दाहाल, गीता सुजी, सुमित्रा नेपाल र राधादेवी कोइरालालाई सम्मान गरिएको थियो । वडाध्यक्ष रोशन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद अम्बिका राजवंशीको प्रमुख आतिथ्य रहेको थियो । 

कनकाई ५ मा कृष्णबहादुर राईको अध्यक्षता र नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा विविध कार्यक्रम गरी नारी दिवस मनाइएको छ । कार्यक्रममा पूर्वजनप्रतिनिधि जमुनादेवी शिवाकोटी, सेवानिवृत्त स्वास्थ्य स्वयम्सेविका हिमादेवी ढुंगेल र श्रमिक महिला टीकामाया दर्जीलाई सम्मान गरिएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य सावित्रादेवी बर्देवाले औचित्यमाथि प्रकाश, स्वागत वडा सदस्य इन्दिरा अधिकारी र सञ्चालन कर्मचारी निर्मला बाँस्कोटाले गरेका थिए ।

कनकाई ७ मा वडाकी १०४ वर्षीय ज्येष्ठ माता मनमाया खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य सुशीला कन्दङ्वा ररहेका थिए । कार्यक्रममा ज्येष्ठ माता खड्का र सावित्रादेवी पोखरेललाई सम्मान गरिएको थियो ।

वडा नं. ८ ले नारी दिवसको अवसरमा स्वास्थ्य शिविर आयोजना गरेको छ । नोबेल शिक्षण अस्पताल विराटनगरको चिकित्सकको टोलीले महिला तथा अन्य रोगसम्बन्धी रोगको परीक्षण गरेको वडाध्यक्ष लीलाबहादुर कटुवालले जानकारी दिए । एक सय जनाभन्दा बढीले सेवा लिएको स्वास्थ्य शिविरमा जटिल प्रकृतिका बिरामीलाई निःशुल्क उपचार गर्ने गरी नोबेल अस्पताल रेफर गरिएको जनाइएको छ ।

नेपालको संविधानले कुनै पनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति नै लिएको छ ।