सुरुङ्गा ।
कनकाई नगरपालिकाको वडामा मेलमिलाप समिति सक्रिय भएसँगै नगरको न्यायिक समितिमा मुद्दा क्रमश घट्दै गएको छ । नगरको ९ वटै वडामा मेलमिलाप समिति सक्रिय भएकै कारण अधिकांश मुद्दा वडाको मेलमिलाप समितिले नै फस्यौट गर्ने भएकाले मुद्दा क्रमश कम हुँदै गएको नगरपालिकाकी नगर उप–प्रमुख तथा न्यायिक समितिकी संयोजक आशा शर्मा शिवाकोटीले जानकारी दिइन् ।
उप–प्रमुख शिवाकोटीका अनुसार आर्थिक बर्ष २०८१/०८२ मा दर्ता भएका १२ र आर्थिक बर्ष २०८०/०८१ का ५ गरी १७ वटा मुद्दा थिए । जस मध्ये यो समाचार तयार पार्दासम्ममा १४ वटा मुद्दा फस्यौट गरिएको छ । हाल अधिकांश मुद्दा वडाकै मेलमिलाप केन्द्रबाट समाधान हुने भएकाले नगरको न्यायिक समितिमा मुद्दा क्रमश कम हुँदै गएको न्यायिक समितिले जनाएको छ ।
नगरमा दर्ता हुने मुद्दा अधिकांश लेनदेन र जग्गा किचलोका रहेका उप–प्रमुख शिवाकोटीले जानकारी दिइन् । नगरका ९ वटै वडामा सक्रिय मेलमिलाप समिति गठन भएको, वडाको मेलमिलाप समितिलाई सहज बनाउन प्रत्येक २ महिनामा अनुगमन गर्ने गरिएको, कानुन अधिकृतसँग सहयोग मागेर ९ वटै वडाका समितिहरुलाई कानुनी किताव वितरण गरिएको भएकाले पनि अधिकांश मुद्दा वडामै समाधान हुने गरेको उप–प्रमुख शिवाकोटीको भनाई छ । नगरमा आएका अधिकांश मुद्दा लेनदेनका भएको उनले बताइन् । ७ वटा लेनदेनका मुद्दा न्यायिक समितिमा दर्ता भएका मध्ये ५ वटा फस्यौट भएका र २ वटा अप्ठ्यारा खालका अझै फस्यौट हुन नसकेको उनले जानकारी दिइन् । लेनदेनका मुद्दा धेरै जसो आफन्त–आफन्त बिचकै छन् ।
उनका अनुसार न्यायिक समितिमा घर झगडा, जग्गा बिवाद, सिमाना अतिक्रमण जस्ता मुद्दा न्यायिक समितिमा आउने गरेका छन् । प्रत्येक हप्ताको बिहीवार र शुक्रबार न्यायिक समितिले इजलासमा मुद्दा हेर्ने गरेको उनले बताइन् । एकदुई हप्तादेखि न्यायीक समितिमा कुनै मुद्दा दर्ता नभएको र त्यस्तो समयमा वडामा गएर मेलमिलाप समितिको अनुगमन गर्ने गरिएको बताइएको छ ।
उनका अनुसार न्यायकि समितिले मुद्दा हेर्दा नाताबाद, किर्पावाद नहेरी स्वतन्त्र रुपमा फैसला हेर्ने गरिएको छ । अप्ठ्यारा खाल र न्यायिक समितिबाट नसक्ने खालका मुद्दा आए अदालतमा पठाउने उनले जानकारी दिइन् । मेलमिलाप समितिलाई बर्ष २ पटक तालिम दिइदै आएको बताउँदै आगामी दिनमा मेलमिलाप समितिलाई चुस्त दुरुस्त बनाउने उदेश्यका साथ मेलमिलाप समितिलाई अन्य राम्रा पालिकाहरुले गरेका राम्रा कामको अनुगमन गराएर अभ्यास गराउने उनले बताइन् ।
तीन वटा मुद्दा हाल चलिरहेको नगरका न्यायिक समितिका कानुन अधिकृत भूपेन्द्र बस्नेलले जानकारी दिए । उनका अनुसार चालु आर्थिक बर्षको चैत २० गतेसम्ममा १२ वटा मुद्दा दर्ता भएका हुन् । आर्थिक बर्ष २०८०/०८१ मा न्याकि समितिमा २४ वटा मुद्दा दर्ता भएकामा पाँच वटा मुद्दा यस चालु आर्थिक बर्षमा फस्यौट भएको कानुन अधिकृत बस्नेतले बताए । उनका अनुसार कनकाई ३, ५ र ८ नम्बर वडाका मुद्दा धेरै आउने गरेका छन् ।
अधिकांश मुद्दा वडामा मेलमिलाप केन्द्रबाटै समाधान हुने भएपछि नगरमा मुद्दा कम हुँदै गएको उनको भनाई छ । हाल प्रत्येक वडामा वडा सदस्यको संयोजकत्वमा ७५ देखि १०० जना सम्मको मेलमिलाप केन्द्र गठन गरिएको उनले बताए । मेलमिलाप केन्द्रलाई गत साउनमा क्षमता अभिबृद्धि सम्बन्धी तालिम दिइएको र आगामी बैशाखमा पनि दिने येजना न्यायिक समितिको रहेको बताइएको छ ।

















