बिर्तामोड । 

झापाको बिर्तामोडमा रहेको यातायात व्यवस्था कार्यालयबाट नौ जना बिचौलियाको पक्राउ परेका छन् । कार्यालय बिचौलियाको अखडा बनेसँगै सेवाग्राहीहरू ठगिने क्रम बढेको छ। यातायातका कर्मचारीको संलग्नतामा बिचौलियाहरूले कार्यालयको छाप र अधिकृतको हस्ताक्षरसमेत किर्ते गरी सेवाग्राहीहरूको लाखौँ रकम ठगेको घटना बाहिरिएसँगै झापा प्रहरीले शुक्रबार दिउँसो ९ जना बिचौलियालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडका खटिएको टोलीले यातायात कार्यालय परिसरमा सेवाग्राहीलाई ठगिने उद्देश्यले बिचौलियाको काम गर्दै आइरहेका बिर्तामोड नगरपालिका–१ का २७ वर्षीय सुरज आचार्य, सोही ठाउँका ४२ वर्षीय तुलसी खतिवडा, २४ वर्षीया गरिमा घिमिरे, ५२ वर्षीया सीता भेटवाल, २९ वर्षीय रोशन आचार्य, बिर्तामोड–५ का ४३ वर्षीय रामप्रसाद ढकाल, बिर्तामोड–३ का २६ वर्षीय युवराज लिम्बू, बिर्तामोड–२ का २४ वर्षीय टंकप्रसाद राजवंशी र कनकाई नगरपालिका–१ का २० वर्षीय दिवस राई रहेका छन्।

पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । घटना विवरण अनुसार लामो समयदेखि यातायात कार्यालयमा लेखापढीको काम गर्दै आएका कनकाई नगरपालिका निवासी विशाल भण्डारीले सेवाग्राहीको लाखौँ रकम लिएर फरार भएका छन्।

भण्डारीले मोटरसाइकल, स्कुटर, ट्याक्टर लगायतका गाडीहरूको ब्लुबुकको कर तिर्ने भनी सेवाग्राहीहरूबाट उठाएको रकम यातायात कार्यालयको राजश्वमा दाखिला नगरी कागजात मिलाएर नवीकरण गरिदिने गरेको घटना पीडित सेवाग्राहीहरूबाट बाहिर आएको छ। भण्डारीले कसैलाई फर्जी बिल र कागजात उपलब्ध गराएको र कयौँको मोटरसाइकलसमेत बिक्री वितरण भए पश्चात् नामसारी नगरेको पाइएको साथै ब्लुलुबुकमा आफैंले मिति, सही र छाप राखी ठगीमा परेको स्वयम् सेवाग्राहीहरू बताउँछन्।

पीडित परमानन्द राजवंशीलेले  ‘चैत लागेर गाडीको कर तिर्न यातायात पुग्दा सिस्टममा कर तिर्न बाँकी रहेको देखाएपछि आफू ठगिएको थाहा पाएको बताए ।  बिचौलिया भण्डारीबाट ठगिएका पीडितहरू परमानन्द राजवंशी, प्रेमप्रसाद अधिकारी, अमरबहादुर चौहान, निश्चल ओली, नितिन अग्रवाल, कृष्णप्रसाद कडेरिया, रमण अधिकारी, बद्री चौधरी, युवराज अधिकारी, यसनाथ अधिकारी लगायतले घटनाका बारेमा यातायात कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र समेत बुझाइसकेका छन्।

बिचौलियाले सेवाग्राही ठगी गरेको घटना आउँदासमेत यातायात कार्यालयले यसतर्फ चासो नदेखाएपछि प्रहरीहरू सादा पोसाकमा आफैं सेवाग्राही बनेर यातायात कार्यालय पुगेका थिए। प्रहरीले ब्लुलुबुक, लाइसेन्स नवीकरण गरिदिए बापत अतिरिक्त शुल्क माग्ने, कार्यालयका कोठाहरू सोझै प्रवेश गर्नेहरूलाई पक्राउ गरेको जनाइएको छ। पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान अघि बढाएको जनाइएको छ।