बिर्तामोड ।
मेची लेखापढी व्यवसायी संघ झापाले अदालतबाट अड्डा अदालतमा लेखापढी गर्ने प्रमाणपत्र प्राप्त गरी कानुनसम्मत व्यवसाय सञ्चालन गर्दै आएको जनाउँदै धरपकडले गम्भीर अवस्था र त्रासको वातावरण सृजना भएको जनाएको छ । यातायात व्यवस्था कार्यालयमा विगत लामो समयदेखि लेखापढी व्यवसाय गर्दै आएका लेखापढी व्यवसायीहरुमाथि भएको धरपकड प्रति संघले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
झापा जिल्ला अदालतलगायतका जिल्ला अदालतबाट अड्डा अदालतमा लेखापढी गर्ने प्रमाणपत्र प्राप्त गरी कानुन सम्मत व्यवसाय सञ्चालन गर्दै आएको भएपनि केही गलत गर्ने ब्यक्तिका कारण ‘बिचौलिया’ भनेको भन्दै संघले आपत्ति जनाएको हो ।
संघले आज (मंगलबार) बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै विगत लामो समयदेखि ठगी गर्दै आएका अनाधिकृत व्यक्ति विशाल भण्डारी कार्यालयको सम्पर्कमा रहेका बेला नै पक्राउ नगर्दा हाल फरार अवस्थामा रहेका र उनी संघको सदस्य कुनैपनि समयमा नरहेको समेत जानकारी गराउँदै उनलाई अभिलम्ब पक्राउ गर्न समेत माग माग गरिएको छ ।
अनाधिकृत व्यक्तिले गरेको अपराधलाई लेखापढी व्यवसायीसँग जोडेर अनावश्यक दोषारोपण हुनुले मर्यादित व्यवसाय गर्दै आएका व्यवसायी माथि आघात पुगेको संघका सचिव इश्वर सुवेदीले बताए । कानुनी मान्यता प्राप्त लेखापढी व्यवसायीलाई विचौलिया, दलाल जस्ता असभ्य भाषाको सम्बोधन सरकारी निकायबाटै भएको बताउँदै सचिव सुवेदीले सम्मानित अदालतकै गरिमामा आघात पुग्ने गरि यस किसिमका निकृष्ट सम्बोधन नर्गनसमेत आग्रह गरेका छन् ।
कानुनको सर्वोच्चतामा ‘दोषी नछुटोस्, निर्दोस नफसोस’ भन्ने मान्यतालाई समेत ध्यानमा राखेर निर्दोस लेखापढी व्यवसायीलाई धरपकड नर्गन र सहज रुपमा काम गर्ने वातारण बनाइदिन अध्यक्ष युवराज निरौलाले सम्बन्धीत निकार्यसँग आग्रह गरेका छन् । सरकारी राजश्व दाखिलाका लागि लाइनमा बसेका सहयोगीलगायतलाई रिहा गरि यस किसिमको धरपकडका श्रृङ्गला वन्द गरिदिन समेत उनीहरुले जोडदार माग गरेका छन् ।
लेखापढी व्यवसायीमा देखिएको त्रासको वातावरण नहटेसम्म व्यवसाय सञ्चालन गर्ने अवस्था नरहेको जानकारी गराउँदै यसले सेवाग्राहीहरुमा परेको असुविधाप्रति संघले क्षमासमेत मागेको छ ।
सेवाग्राहीकै आग्रहमा कार्य सहजीकरण गर्दै आएको, कसै प्रति कुनै दुव्र्यवहार नगरेको र आगामी दिनमा समेत संघका सदस्यले सेवाग्राहीको आग्रह विना वा इच्छा विपरित कुनै काम नगर्ने, चाहाने सेवा ग्राहीलाई सदैव काम गर्ने तरिका, सम्पर्क स्थान देखाउने चिनाउने गर्दै आएको र यो क्रमलाई निरन्तर दिने, मर्यादा विपरित करकाप गरे जानकारी गराए त्यस्ता व्यवसायीलाई कार्वाही गर्न, कार्वाही सिफारिस संघ प्रतिवद्ध रहेकोसमेत संघले जनाएको छ ।
केही दिन अघि प्रहरीले यातायायात ब्यवस्था कार्यालय झापा बिर्तामोडबाट ९ जनालाई बिचौलियाको संज्ञा दिदै पक्राउ गरी ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । ती मध्ये दुई जना लेखापढीका सदस्य रहेको संघले जनाएको छ ।
पत्रकार सम्मेलनमा संघका संस्थापक सचिव केदारकुमार श्रेष्ठ, सदस्य सागर तिवारीलगायतले आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले सोमवारदेखि काम गर्ने वातावरण नरहेको जानउँदै आ–आफ्नो कार्यालय बन्द गरेका छन् । संघले काम गर्ने वातारण सिर्जना गरिदिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय झापा र यातायात कार्यालयमार्फत मन्त्रालयलाई पनि सोही विबरणको ज्ञापनपत्र बुझाएको सचिव सुवेदीले बताएका छन् । सहयोगी अर्थात कर्मचारी राखेर काम गरेको बताउँदै नियम कानुनले नपाउने भए त्यसको ब्यवस्था गर्न आफुहरु तयार रहेको उनीहरुको भनाई छ ।
लेखापढी ब्यवसायीले कार्यालय बन्द गरेसँगै यातायात ब्यवस्था कार्यालयमा सेवाग्राहीको भीड वढेको छ । नविकरणका लागि गौरीगञ्जबाट यातायात ब्यवस्था आज बिहान ९ बजे आएकान उज्वल बस्नेतले ४ बजेसम्म पनि काम गर्न नसेको बताउँदै लेखापढी हुँदा सजिलो हुने र खुसीका साथ सेवा शुल्क तिर्ने बताए ।


















