- वीरु दर्नाल
बिर्तामोड ।
पर्वत जिल्ला कुश्मा स्थायी घर भएका र लामो समयदेखि यूकेमा बसोबास गर्दै आएका ४२ वर्षिय स्वर्गिय बिज्ञान गौतम (उदय) को जन्मजयन्तिको अवसरमा विर्तामोडका एक परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
स्वर्गिय गौतमलाई सन् २०२३ देखि क्यान्सर रोग लागेपछि गत वर्षको ७ जुलाई २०२४ मा उपचारको क्रममा निधन भएको थियो । २८ जुलाईमा भएको उनको जन्म जयन्तिको स्मृतिमा उनकी श्रीमति दीपा महरा गौतमले स्वर्गिय आत्माको शान्तिको कामना गर्दै उक्त सहयोग गरेको बताइएको छ ।
बिर्तामोड–५ , अग्रसेन भवन पछाडी सुकुम्वासी टोल निवासी माया कुँवरका ३५ वर्षिय छोरा रेवत र २९ वर्षिया छोरी कोपिलाको दुवै खुट्टा चल्न नसक्ने भएर हिड्डुल गर्न नसक्ने अवस्थाका छन् । उनीहरुको आर्थिक अवस्था नाजुक भएको र नागरिकता नबनेको कारण सरकारी भत्ता पनि प्राप्त गर्न सक्ने कानूनी ब्यवस्था नभएकोले सहयोग गर्न आवश्यक महसुस गरेर १८ हजार २ सय ५० रुपैयाँंको आर्थिक सहयोग गरिएको गोर्खा फाउण्डेशनका अध्यक्ष वीरु दर्नालले बताए ।
श्रीमति गौतमको सहयोग र गोर्खा फाउण्डेशनको समन्वयमा उक्त सहयोग हस्तान्तरण गरिएको हो । सन् २०१० देखि यूकेमा रहेका स्वर्गिय गौतमको स्थायी घर धरान भएकी दीपा महरासँग सन् २०११ मा यूकेमै विवाह भएको थियो । गौतम परिवारको ७ वर्षकी एक छोरी दिव्याना रहेकी छिन् ।
सरल स्वभावका गौतमको मोडलिङ र कला क्षेत्रमा रुचीका कारण नेपाली चलचित्र तिर्खा, तार्गेट, बलवान, जंगल क्विनलगायतमा अभिनयसमेत रहेको छ । श्रीमती गौतमका अनुसार स्वर्गिय गौतम एक असल अभिभावक, ब्यवहारिक ब्यक्तित्व र सरल स्वाभावका थिए । सम्बन्धित टोलका अग्रज नन्दलाल पोखरेलले नगद हस्तान्तरण गरेको क्षण चक्र परियार, कमल पाठक, पर्शुराम पोखरेललगायतको उपस्थिति रहेको बताइएको छ ।


















