शिवसताक्षी ।
झापाको शिवसताक्षी नगरपालिका–११ स्थित दुधेमा ‘झापा महिला गोल्ड कप’ हुने भएको छ । झापामा पहिलो पटक सर्वाधिक पुरस्कार राशिको महिला गोल्डकप आगामी कात्तिक १५ देखि २२ गतेसम्म झापा महिला गोल्डकपको तयारी गरिएको आज (विहीवार) नवनिर्मित दुधे रंगशालामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
नेपालकै प्रतिष्ठित र लोकप्रिय महिला फुटबल प्रतियोगिता बनाउने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक झापा महिला गोल्ड कपले जनाएको छ । महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता तयारी बारे पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
काठमाडौंबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुममा रहेको झापा जिल्लालाई महिला फुटबलको हबका रुपमा विकसित गराउन आयोजक टिम लागि परेको अध्यक्ष सन्तोष थोप्रा लिम्बुले जानकारी दिए । उनका अनुसार महिला फुटबल क्लबको विकास र प्रवर्धनसँगै झापा महिला गोल्डकपलाई निरन्तर रुपमा सञ्चालन गर्नका लागि सबैजना सक्रियताका साथ लागेका छन् ।
झापा महिला गोल्डकपको विजेता टिमले नेपालकै सर्वाधिक राशी पुरस्कार पाउने गरी आयोजक टिमले तयारी गरिरहेको छ । त्यस्तै, मस्ट भ्यालुएबल प्लेयर, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले पुरस्कार पाउने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा आयोजकको तर्फबाट एक टिम रहने छ भने नेपालका तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका महिला टिमको सहभागिता टुंगो लागि सकेको अध्यक्ष सन्तोषले बताए । यसैगरी एक टिम भारत, एक टिम भुटान तथा बाँकी दुई टिम नेपालका ए डिभिजन क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।
महिला खेलाडीलाई प्रोत्साहन गर्दै झापामा महिला खेलाडी उत्पदानमा टेवा पुर्याउने र ग्रास रुटबाटै निरन्तर प्रशिक्षणका लागि पहल गर्ने आयोजकको उद्देश्य रहेको छ । त्यसका लागि बुधे रंगशालाको निर्माण तथा स्तरोन्नति धमाधम भइरहेको छ । पक्की प्यारापिट निर्माण, अस्थायी प्यारापिट निर्माण, खेलमैदानको स्तरोन्नति असोजसम्म सक्ने गरी तीवस्तरमा काम भइरहेको बताइएको छ ।
यो प्रतियोगिता सञ्चालनको लागि एक करोड रुपैयाँ लागत अनुमान गरिएको छ । झापाबासीकै प्रतिष्ठासँग जोडिएको प्रतियोगितालाई शानदार ढंगले सफल बनाउन झापाली उद्योगी, व्यवसायी र खेलप्रेमीसहित सवैमा आयोजले आग्रह गरेको छ ।
झापा महिला गोल्डकपलाई एउटा सामाजिक तथा स्थापित संस्थाको रुपमा अगाडि बढाउन र जिल्लामा नै अगुवा संस्थाको रुपमा चिनाउन सबैखाले सामाजिक अभियानसँग जोडेर लगिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको संरक्षकमा शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्रासहित शिवसताक्षीका जनप्रतिनिधिहरु रहेका छन् । त्यस्तै प्रतियोगिता सञ्चालनको लागि झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङलाई संयोजक चयन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।


















