उदयपुर ।
उदयपुरमा मापदण्ड विपरित सञ्चालित मेडिकलमा ताला लगाइएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले सोमबार चौदण्डीगढी नगरपालिका क्षेत्रका औषधि पसल तथा मेडिकल हलहरूमा छड्के अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालन भएको एक मेडिकलमा ताला लगाइएको छ भने केहीलाई जरिवाना गरिएको छ । अनुगमन टोलीले चौदण्डीगढी नगरपालिका–४, बसाहामा महेन्द्र मण्डलद्वारा सञ्चालित बीज मेडिकल हलमा अवैधानिक रूपमा सेवा दिइएको पाइएपछि ताला लगाएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयले जानकारी दिए ।
त्यस्तै, दर्ता प्रमाणपत्र नबिनाइएको भन्दै पाथिभरा डेन्टल क्लिनिक, शुभम डेन्टल प्रालि र दिव्यान्स फार्मेसीलाई जरिवाना गरिएको हो । अनुगमन टोलीमा जिल्ला स्वास्थ्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय गाईघाट र स्थानीय पालिकाका प्रतिनिधिहरूको सहभागिता थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेयका अनुसार बेल्टार बजार, बसाहा लगायतका क्षेत्रमा सञ्चालित औषधि पसलहरूमा अनुगमन गर्दा म्याद समाप्त भएका औषधिहरू समेत भेटिएर जफत गरिएको छ ।
जिल्लाभरिका सबै मेडिकल हलहरूमा चरणबद्ध रूपमा अनुगमन गरिने र मापदण्ड विपरीत सञ्चालित संस्थाहरूमाथि कारबाही अघि बढाइनेछ । साथै, मापदण्ड अनुसार सञ्चालनमा ल्याउन धेरै मेडिकल हलहरूलाई सुझावसमेत दिइएको छ ।


















