बिर्तामोड ।
बिर्तामोड उद्योग बाणिज्य संघ अन्तरगतको देवीहाट व्यवसायी उप–समितिले तीज मिलन कार्यक्रम गरेकोे छ । देवीहाट उप–समितिले आज (आइतवार) महिलाहरुको महान पर्व तीजको अवसर पारेर बाणिज्य संघको सभाहलमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको हो ।
तीजको अवसर पारेर बिभिन्न सामाजिक संघसंस्थामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी बिर्तामोड चिल्ड्रेन अस्पतालकी अध्यक्ष लीला मैनालीलाई सम्मानसमेत गरेको छ ।

विर्तामोड उद्योग वाणिज्य संघ अन्तरगतको देवीहाट व्यवसायी उप–समितिको आयोजनामा भएको तीज मिलन कार्यक्रममा सामाजिक व्यक्तित्व मैनालीलाई सम्मान गरिएको हो । देवीहाट व्यवसायी उप–समितिका संयोजक सुरेश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संघका अध्यक्ष न्यौपानेले उप–समितिले तीज मिलन कार्यक्रम गरेर उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । उनले तीज महिलाहरुको महान पर्वको अवसर पारेर सामाजिक ब्यक्तित्व तथा महिला नेतृ मैनालीलाई सम्मान गरेको प्रति खुसी ब्यक्त गरे । उनले आगामी दिनमा पनि यस्ता प्रकारका कार्यक्रम गर्न सवै उप–समितिलाई आग्रह पनि गरेका छन् ।
यस्तै कार्यक्रममा सम्मानीत ब्यक्तित्व महिला नेतृ मैनालीले उप–समितिलाई धन्यवाद ब्यक्त गरिन् । उनले गठन भएको छोटो समयमा महिलाहरुको तीजको अवसर पारेर तीज मिलन कार्यक्रम गरेर आफुलाई सम्मान गरेको भन्दै देवीहाट उप–समितिलाई धन्यवाद दिएकी हुन् ।
कार्यक्रममा प्रमुख अतिथि तथा संघका अध्यक्ष न्यौपाने, सम्मानीत ब्यक्तित्व मैनाली, मुक्तीचोक शचिश्चरे रोड व्यवसायी उप–समिति संयोजक गौरीशंकर गुप्ता टिंकुलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्वागत उप–समिति सह–संयोजक शर्मिला शाक्यले गरेको कार्यक्रममा संघका सह–कोषाध्यक्ष तिलोतमा खत्री, सदस्य केदार खनाल, विपिन बजगाँई, गणपति रोड व्यवसायी उप–समिति संयोजक प्रजित पुरी, डा. सुजता मैनालीलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन उप–समिति सदस्य दुर्गा श्रेष्ठले गरेका थिए ।
देवीहाट उप–समितिले महिलाहरुलाई दर खुवाएर तीजका गीतहरुमा नाचगान गरेर महिलाबिच एक–अर्कामा तीजको शुभकामना आदान–प्रदानसमेत गरेको थियो । बिर्तामोड उद्योग बाणिज्य संघ अन्तरगत अहिलेसम्म आठ वटा उप–समितिहरु गठन गरेर बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


















