झापा । 

वीरगञ्ज महानगरपालिकामा हैजा सङ्क्रमणको जोखिम कायमै रहेपछि महानगरका सम्पूर्ण विद्यालयहरू थप तीन दिनका लागि बन्द भएका छन् । महानगरपालिकाको कार्यालयमा मंगलबार नगरप्रमुख स्तरीय बसेको बैठकले यस्तो निर्णय गरेको हो । महानगरको बैठकले बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

 यसअघि दुई दिनका लागि बन्द गरिएका विद्यालयहरू थप तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको शैक्षिक प्रशासन महाशाखाका कर्मचारी आनन्द लामिछानेले जानकारी दिएका हुन् । 

हैजा फैलिएकोले सङ्क्रमणबाट जोगाउनका लागि विद्यालय बन्द गरिएको महानगरपालिकाले जनाएको छ । यस अवधिमा शिक्षकहरूलाई भने हैजा नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ । हैजा संक्रमितहरुमध्ये डिस्चार्ज हुने संख्या बढेपनि नियन्त्रणमा भने आइसकेको छैन ।

वीरगन्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको छैन । 

आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगन्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिए। उनका अनुसार हालसम्म वीरगन्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् ।