बिर्तामोड ।
नेपाल वितरक महासंघ कोशी प्रदेश अध्यक्षमा नविन तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । महासंघ कोशी प्रदेशको दोस्रो बार्षिक साधारणसभा तथा अधिवेशनबाट नविन तामाङ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । महासंघको आज (शनिवार) बिर्तामोडमा भएको अधिवेशनले तामाङ सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
महासंघको निवर्तमान अध्यक्ष कृष्णराज श्रेष्ठ, बरिष्ठ उपाध्यक्षमा लालबहादुर कार्की, उपाध्यक्षमा युवराज घिमिरे, शुभराज थापा, महासचिवमा सन्तोषकुमार श्रेष्ठ, सचिवमा निर्मल खतिवडा र कोषाध्यक्षमा हिमाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
यसैगरी सदस्यमा बद्री सेडाई, विपिन थापा, रामराज भण्डारी, शम्भू आचार्य, कुमार बस्नेत, मन्टु रौनियार, एलिस खनाल, ध्रुव कनाल र सन्तोष भट्टराई निर्वाचित भएका चेम्बर्स अफ कमर्स कोशी प्रदेश उपाध्यक्ष तथा महासंघका सदस्य सन्तोष अग्रवालले जानकारी दिए ।
कृष्णराज श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महासंघको केन्द्रिय अध्यक्ष दुर्गा गौतमको प्रमुख आतिथ्य रहेको थियो । सोही कार्यक्रमकाबिच कोशीका वितरकले अहिलेको समयमा भोग्नुपरेको समस्या र त्यसको समाधानमा लाग्ने १३ बुँदे साझा प्रतिबद्वता उल्लेखित झापा घोषणापत्र जारी गरिएको थियो ।
यसैगरी अग्रज व्यवासायी भगवानदास अग्रवाल, प्रदीपकुमार अग्रवाल र रामलखन चौधरीलाई सम्मानसमेत गरिएको थियो । स्वागत महासंघ कोशी प्रदेश उपाध्यक्ष नविन तामाङले गरेको कार्यक्रममा प्रमुख अतिथि गौतम, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, कार्यक्रम संयोजक सुरेश अग्रवाल (भद्रपुरे) लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कोशी प्रदेश महासचिव राजेश खनालले गरेका थिए ।
कोशी प्रदेश भित्रका सबै वितरक व्यवसायीहरुको छाता संगठनको रुपमा स्थापित नेपाल वितरक महासंघले विभिन्न कम्पनी तथा आयातकर्ताबाट उत्पादन वितरणमा संलग्न व्यवसायीहरुलाई एकीकृत उनीहरुको हक अधिकार संरक्षण, व्यवसायीक क्षमता अभिवृद्धि र बजारीकरण सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । महासंघले केवल सदस्यहरुको हितको काम मात्र नभई सम्पूर्ण व्यवसायिक वातावरण व्यवस्थित तथा प्रतिष्पर्धात्मक बनाउन साथै उत्पादन कम्पनीहरुले भोग्दै गरेको विभिन्न कठिनाई र जोखिम र बजार प्रबद्र्धनमा सहयोग गर्दै आएको बताइएको छ ।


















