इटहरी ।
संस्था दर्ता ऐन २०३४ अन्तरगत दर्ता भएका सामाजिक संस्थाहरुबीच एकीकरण गर्न कानुनी जटिलता खेपिरहेका काफ्ले बन्धुहरुले तीन वटा संस्थाबीच कार्यगत एकता गरी सामुहिक उपस्थिति जनाउने निश्कर्षमा पुगेका छन् ।
हिजो शनिबार मोरङ्गको सुन्दरहरैंचा नगरपालिका वडा नं। ५ बलियास्थित नयाँ बृन्दावन गौशालामा भएको कार्यगत एकता घोषणा सभा पछि तीनवटै संस्थाहरुले काफ्ले बन्धु समाज नेपालको एउटै नामबाट कार्यक्रमहरु सञ्चालन गर्ने भएका हुन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको काफ्ले समाज, मोरङ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको काफ्ले बन्धु कल्याण समिति नेपाल र सुनसरी जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेको काफ्ले बन्धु समाजका बीचमा कार्यगत एकता भएको हो ।
सो कार्यक्रममा काफ्ले समाजका केन्द्रीय अध्यक्ष कमलप्रसाद काफ्ले, काफ्ले बन्धु कल्याण समिति नेपालका केन्द्रीय अध्यक्ष गोपालप्रसाद काफ्ले र काफ्ले बन्धु समाजका अध्यक्ष खेमनाथ काफ्लेले कार्यगत एकताको सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा उल्लेखित बुँदाहरु काफ्ले समाजका महासचिव देवीप्रसाद शर्मा काफ्लेले वाचन गरेका थिए ।
संस्थाहरुबीच एकीकरणका लागि विगतमा गरिएका अनेकन प्रयासहरु विफल हुँदै गएकोमा वर्तमान केन्द्रीय समितिहरुको लचिलो अडानका कारण कार्यगत एकताका लागि सहमति जुटेको वार्ता समितिका सदस्य तोयानाथ काफ्लेले बताए। २०८१ माघ ७ गतेदेखि सुरु भएका चरणवद्ध वार्ताबाट १८ बुँदे निश्कर्ष निकालेर तिनै बुँदाहरु पालना एवम् कार्यान्वयन गर्ने गरी कार्यगत एकता गरिएको काफ्ले बन्धु कल्याण समिति नेपालका केन्द्रीय अध्यक्ष गोपालप्रसाद काफ्लेले बताए।
अब तीनवटै संस्थाका कार्यक्रमहरु काफ्ले बन्धु समाज नेपालको नाममा गरिने सहमति गरिएकाले सोही नामको व्यानरसमेत तीनैजना केन्द्रीय अध्यक्षहरुले कार्यक्रमका वीच प्रर्दशन गरेका थिए । कार्यगत एकता घोषणा समारोहबाट तीनवटै संस्थाहरुलाई समन्वय गरी बन्धुहरुको हितमा काम गर्न गराउने उद्देश्यले केन्द्रीय समन्वय समिति र तीनवटै संस्थाहरुका विधानहरु अध्ययन गरेर आगामी दिनमा काफ्ले बन्धु समाज नेपालले गर्ने कामहरुलाई व्यवस्थित गर्न कार्यसञ्चालन नियामवली मस्यौदा समिति समेत गठन गरिएको छ ।
केन्द्रीय समन्वय समिति काफ्ले समाजका निर्वतमान केन्द्रीय अध्यक्ष ख्यामनारायण काफ्लेको संयोजकत्वमा ११ सदस्यीय रहेको छ भने केन्द्रीय सदस्य तोयानाथ काफ्लेको संयोजकत्वमा कार्यसञ्चालन नियामवली मस्यौदा समिति गठन गरिएको छ ।
एकता घोषणा सभामा काफ्ले बन्धुहरुको उत्थान एवम् उन्नयन एवम् संस्थाको स्थायित्वलाई मनन गरी विभिन्न स्थानमा जग्गा दान गर्नुहुने ८ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा झापाको अर्जुनधारा ६ का गोविन्द काफ्ले, मोरङ्गको सुन्दरहरैंचा ५ बलियाका इन्द्रकुमार काफ्ले (विनोद), मेचीनगर ७ ईटाभट्टाका खडानन्द काफ्ले, गंगाराम काफ्ले र देवीप्रसाद काफ्ले तथा मोरङ्गको बुढीगंगा १ टंकिसिनवारीका गणेशप्रसाद काफ्ले, प्रेमप्रसाद काफ्ले र सुशिल काफ्ले रहेका छन् । सोही समारोहमा काफ्ले वंशावली २०६५ का संकलक विराटनगर निवासी देवीप्रसाद काफ्लेलाई विशेष व्यक्तित्व सम्मान गरिएको थियो ।
एकता घोषणा समारोहमा तीनैजना अध्यक्षहरुले आफ्नो नेतृत्वको संस्थाको स्थापनाको पृष्ठभूमिसहित आजको अवस्थासम्म आइपुग्दा गरिएको कार्यक्रमहरुबारे सभामा जानकारी गराएका थिए । काफ्ले समाजका संरक्षक तथा एकता वार्ता समितिका संयोजक निलकण्ठ काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा उपस्थित महानुभावहरुलाई काफ्ले बन्धु कल्याण समिति नेपालका उपाध्यक्ष शिवप्रसाद काफ्लेले शाब्दिक स्वागतसहित कार्यगत एकताको आश्यकता एवम् औचित्य प्रष्ट्याएका थिए ।
काफ्ले समाजका झापा जिल्ला अध्यक्ष एवम् एकता वार्ता समितिका सदस्य गोपाल काफ्लेले सञ्चालन गरेको कार्यक्रममा एकता वार्ता समितिका सहसंयोजक एवम् संस्थाका संरक्षक गुणराज काफ्लेले एकता वार्ताका श्रृङ्खलाहरु केलाउँदै बन्धुहरुको संस्थालाई एकीकरण नै गर्न मिल्ने गरी ऐनमा नै संशोधन गर्न सबै थरका संस्थाहरुलाई घच्घच्याएका थिए ।


















