बिर्तामोड । 

झापाको बिर्तामोडमा पनि जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ । आज (सोमवार) दिउँसो ३ः१५ देखि बिर्तामोड–३, बिर्ताबजारस्थित नगरपालिका कार्यालय अगाडि भेला भएका आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो ।

आन्दोलनकारीहरुले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए । प्रहरीले एक दर्जनबढी सेल अश्रुग्यास र एक दर्जनबढी राउण्ड गोली फायर गरेको छ । प्रदर्शनकारीतर्फ दुईजना घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागेर बिर्तामोड–३  का ३३ बर्षीय प्रदिप खरेल घाइते भएका छन् । उनको दायाँ खुट्टाको फिलामा रबर गोली लागेको छ । 

उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । त्यस्तै अर्का प्रदर्शनकारी पनि घाइते भएका छन् । उनको टाउको फुटेको छ । प्रहरीले हानेको ढुंगा उनलाई लागेको हो । आन्दोलनकारीले बिर्तामोड नगरपालिकाको गेट र नगर प्रहरी बस्ने बिटमा आगो लगाएका छन् ।