बुधबारे ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको बुधबारे सेवा केन्द्रले आठ लाख २५ हजार रुपैयाँ ऋण मिनाहा गरेको छ । झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको संस्थाको बुधवारे सेवा केन्द्रले आज (शनिवार) वित्तीय साक्षरता तथा कर्जा सुरक्षण वितरण कार्यक्रमको आयोजना गरी ऋण मिनाहा गरेको हो ।
साकोसको डाँफे सहारा महिला समूह नं. ०५० की सदस्य स्व. इलादेवी तामाङको निधनपछि उनका श्रीमान सुरेन तामाङलाई संस्थाको कर्जा सुरक्षण कोष अन्तर्गत ऋण मिनाहा तथा काजक्रिया खर्च वापत ८ लाख २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
सोही कार्यक्रमका बिच साकोसले विगतदेखि सदस्यलाई प्रदान गर्दै आएका स्वास्थ्य उपचार, प्रसूति, शल्यक्रिया, सर्पदंश, दुर्घटना तथा संस्कार–सम्बन्धी सहयोगलगायतका सेवा–सुविधाका बारेमा जानकारी गराएको थियो । साथै सहकारी ऐन २०७४ का प्रावधान, बचत तथा ऋण कारोवार, संरक्षित पूँजी फिर्ताकोष, कालो सूची, ऋण असुली, कर्जा सूचना केन्द्रलगायतका विषयमा पनि विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा सेवाकेन्द्र प्रमुख केपी लुईटेलले साकोसलाई हाल मुलुककै नम्बर १ सहकारीको पहिचान बनाउन सफल भएको भन्दै यसलाई थप उचाइमा पुरÞ्याउन कर्मचारी र सदस्य दुवैको सक्रियता आवश्यक रहेको बताएका छन् ।
सेवाकेन्द्र सञ्चालन सहयोग उप–समिति संयोजक विष्णुप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उप–समिति सदस्य दुर्गा पोखेल ढुंगेलको आतिथ्य रहेको थियो । सेवाकेन्द्र प्रमुख लुईटेलको सहजीकरणमा भएको कार्यक्रमको सञ्चालन फिल्ड म्यानेजर मुकुन्द उप्रेतीले गरेका थिए ।
कार्यक्रमको व्यवस्थापन सेवाकेन्द्रका कर्मचारी राजेन्द्र लिम्बु, शुष्मा सुवेदी, पूजन न्यौपाने, डुमा श्रेष्ठ, ममता घिमिरे, निकिता शर्मा दाहाल, गोपाल राज सुवेदी र उमादेवी सुवेदीको गरेका थिए ।


















