बिर्तामोड ।
झापाको बिर्तामोडमा किताव मेला शुरु भएको छ । इशा बुक्स एण्ड स्टेशनरी बिर्तामोडले तेस्रो किताव मेला शुरु गरेको हो । बिर्तामोड–५ शनिश्चरे रोडस्थित नेपाल बैंक छेउमा आज (सोमबार) देखि असोज १२ गतेसम्म किताव मेला सञ्चालन रहने आयोजक इशा बुक्स एण्ड स्टेशनरीका प्रोपाइटर केशवप्रसाद मैनालीले जानकारी दिए ।
पठन संस्कृतिको विकास गर्ने उदेश्यले ‘पढाईले सोचको दायरा फराकिलो बनाउँछ’ भन्ने नाराका साथ विगत तीन बर्षदेखि किताव मेला आयोजना गरिदै आएको मैनालीले बताए ।
उनका अनुसार किताव मेलामा पुराना र नयाँ साहित्यक, इतिहास, धार्मिक, खोज तथा अनुसन्धान, अंग्रेजी उपन्यास, आर्थिक सम्बन्धीलगायतका पुस्तक पाइने छ । मेलामा किताव खरिद गर्दा १० देखि ३० प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको छ । मैनालीले सवै प्रकारका किताव एकै स्थानमा बिशेष छुटका साथ पाइने भएकाले खरिद गर्न आउन र अरुलाई पनि जानकारी दिन आग्रह गरेका छन् ।
मैनालीले डा. महावीर पुनको जीवनी पुस्तक बिक्री वितरणका लागि सहजकर्ताको भुमिका खेलेका थिए । उनले बिर्तामोड, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा उक्त पुस्तक ८ हजार ६४० वटा बिक्री वितरण गरेकोसमेत बताए ।


















