बिर्तामोड ।
ग्राहकलाई मध्यनजर गर्दै बिर्तामोडमा सञ्चालनमा रहेको एभरेष्ट फ्रेस एण्ड फेसन हाइपरमार्केटले बडादशैं धमाका कार्यक्रम ल्याएको छ । दुई वर्ष अघि बिर्तामोडमा आफ्नो सेवा विस्तार गरेको हाइपरमार्केटले प्रत्येक वर्ष दशैं विशेष छुट कार्यक्रम सञ्चालन गर्दै आएको र यस वर्षपनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको छ । मार्केटले देशको यस विषम परिस्थितिमा पनि यो वर्ष बडा दशैंको बडा धमाका अफर कार्यक्रम शुरु गरेको हो ।
कार्यक्रमको उद्घाटन बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले गरेका छन् । १० औं संविधान दिवसको अवसर पारेर आज (शुक्रवार) हाइपरमार्केटले सो सेवा शुभारम्भ गरेको हो । उद्घाटनको अवसरमा संविधान रक्षासहित मुलुकमा शान्ति र सुव्यवस्था कायम गर्न समेत सञ्चालक चान महमदले माग गरेका छन् । सोही कार्यक्रमकाबीच गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत सञ्चालक महमदले गरेका छन् ।
उनले कुनैपनि आन्दोलनका क्रममा भाटभटेनीसहित ठूला व्यापार व्यवसायमा हुने गरेको तोडफोड र आगजनीको घोर निन्दा र भत्सना गर्दै आगामी दिनमा यस्ता प्रकृतिका घटना नघटाउन सम्वन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।
हाइपरमार्केटले दशैं धमाका अन्तरगत शुक्रवारदेखि लागू हुने गरी दशैंको नवमीका दिनसम्म १३ दिने विशेष कार्यक्रम सञ्चालन गर्ने मार्केटका सञ्चालक महमदले जानकारी दिए । कार्यक्रम अन्तरगत कपडासहित जुत्ता चप्पलको खरिदमा एमआरपी मूल्यमा ५० प्रतिशतसम्म छुट दिइनेछ भने किराना सामग्री खरिदमा बजार मूल्य भन्दा सस्तोमा सामग्री उपलब्ध गराइने सञ्चालक महमदको भनाई छ ।
भारतीय बजारसंँगको तुलनामा सुलभ मूल्यमा गुणस्तरीय सामग्री प्रदान गरिनेछ महमदले भने ‘चाडपर्बको समयमा दुई रुपैयाँ सस्तो पर्ने लोभले हामी भारतीय बजारहरुमा जाने गरेका छौं तर, भारतीय बजारकै मूल्यमा गुणस्तरीय सामान यहीँ उपलब्ध गराउने गरी हामीले यो कार्यक्रम सञ्चालनमा ल्याएका हौं ।’
सामान सस्तो पाइने नाममा भारतीय बजार धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्ने उद्देश्यले हाइपरमार्केटले विगत दुई वर्षदेखि ग्राहकको चाहना अनुसार गुणस्तरीय सामग्री उपलब्ध गराउँदै आएको सञ्चालक महमदको दावी छ ।उनका अनुसार पाँच हजार माथिको सामग्री खरिद गर्ने ग्राहकलाई फ्रि होम डेलिभरीको व्यवस्था गरिएको छ । हाइपरमार्केटमा लत्ताकपडा मात्र होइन, खाद्यन्य सहित फलफूल र तरकारीपनि बजार मूल्य भन्दा सस्तो उपलब्ध हुने छ ।
कृषकले उत्पादन गरेको फलफूल र तरकारी विचौलीयाको हातमा नपरी सिधै हाइपरमार्केटमा आउने भएकाले पनि बजार मूल्य भन्दा सस्तो र गुणस्तरीय हुने उनको दावी छ । त्यस्तै मार्केटमा आएर टिकटक बनाउनेहरुका लागिसमेत उत्कृष्टताको आधारमा पुरस्कृत गरिने बताइएको छ । जसमा पहिलो, दोस्रो र तेस्रो पुरस्कारको व्यवस्था गरिएको छ । उक्त पुरस्कार अन्तरगत पहिलो पुरस्कार पाँच हजार, दोस्रो तीन हजार र तेस्रो पुरस्कार दुई हजार रुपैयाँ प्रदान गरिने छ ।
ग्राहकको सुविधालाई ध्यानमा राखेर हाइपरमार्केटले विशेष सुविधाको व्यवस्था गरेको दावी गरेको छ । जस अन्तरगत विहान पाँचबजेदेखि राति १२ बजेसम्म ग्राहकले सेवा लिन सक्नेछन् । विशेषगरी विहानको समय गृहिणीलाई लक्षित गरी पहाडमा उत्पादित तरकारी तथा फलफूल ताजै उपलब्ध गराउने मार्केटको उद्देश्य रहेको छ ।
हाइपरमार्केटको मुख्य कार्यालय वाह्रदशी गाउँपालिका ३ स्थित राजगढ बजारबाट पनि सोही प्रकृतिको सेवा उपलब्ध गराउने सञ्चालक महमदले जानकारी गराएका छन् । कार्यक्रममा बिर्तामोड उद्योगबाणिज्य संघका उपाध्यक्ष जीवन खड्कालगायतको आतिथ्य रहेको थियो भने सञ्चालक मुन्ना हुसेन, मुन्नाज हुसेन, मुनताज हुसेन, मेनेजर गणेश भुजेल, प्रेमा विष्टलगायतको उपस्थिति रहेको थियो ।


















